एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख रूपैयाँ भुक्तानी


काठमाडाैँ । एभरेष्ट पेपर मिल्स प्रा.लि. का श्रमिकहरूले लामो समयको कानुनी र प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधा बापतको कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रूपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।

उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि १७४ जना श्रमिकहरूले आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकको माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए।

अन्त्यमा श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमति अनुसार सबै श्रमिकले विभिन्न चेकमार्फत बक्यौता रकम प्राप्त गरेका हुन्।

पटक पटकको कानुनी सङ्घर्ष पछि श्रम अदालतले मिति २०८२ साल चैत १७ गते ५ करोड ८६ लाख ६० हजार ३९५ रूपैयाँ २२ पैसा भुक्तानी गर्नका लागि बैङ्क खाता फुकुवा गर्न आदेश दिएको थियो।

तर, बैङ्क खाता फुकुवा गरिए तापनि प्रतिष्ठानबाट रकम भुक्तानी नभएपछि श्रमिकहरूले अदालतको अवहेलना भएको भन्दै पुनः निवेदन दिएका थिए।

निर्णय कार्यान्वयन नभएको भन्दै पुनः निवेदन परेपछि मिति २०८३ साल भदौ २६ गते सेयर धनीहरूको बैङ्क खाता, सम्पत्ति तथा सेयरसमेत पुनः रोक्का गरिएको थियो।

प्रशासनिक र कानुनी कारबाहीपछि अन्ततः मिति २०८३ साल असोज ३० गते श्रम अदालतको आदेश बमोजिमको ५ करोड ८६ लाख ६० हजार ३९५ रूपैयाँ २२ पैसा र भदौ तथा असोज महिनाको तलबसहित कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रूपैयाँ ३८ पैसा १७४ जना श्रमिकहरूलाई भुक्तानी गरिएको छ।

विभिन्न चेकमार्फत यो रकम हस्तान्तरण गरिएसँगै लामो समयदेखि रोकिएको सहमति र अदालतको निर्णय पूर्ण रूपमा कार्यान्वयनमा आएको हो।