पशुपालनबाटै समृद्धि


प्रल्हाद दाहाल । भौगोलिकता र जैविक विविधताका कारणले नेपाल पशुपालनको लागि उपयुक्त स्थान हो । यहाँको वातावरण, वन–जंगल, जलस्रोत, अनि कृषि क्षेत्रले ओगटेको जमिनलगायतका सबै कुरालाई हेर्दा पशुपालनको लागि आवश्यक सबै कुराहरू पर्याप्त छन् ।

यिनै कुरालाई मध्यनजर गरि यहाँ ६३ प्रतिशत नागरिक अझ पनि कृषि पेशामा आश्रित छन् । कृषिको समग्र पाटोमध्ये पशुपालन पनि एउटा हो । धान, मकै, गहुँ, कोदो, जुनजुन बालि उत्पादन भए पनि त्यसबाट पशुको आहारालाई सहयोग पुगिरहेको हुन्छ ।

पशुपालनबाट पनि कृषि उत्पादनलाई सहयोग पुगिरहेको हुन्छ । नेपालको परम्परागत खेती प्रणालीमा पशुपालनबाट उत्पादित मलले कृषिलाई अग्र्यानिक उत्पादन बनाउन, उत्पादन बढाउनमा योगदान पु¥याइरहेको छ । यसरी, पशुपालन र खेतीपाति एक अर्काका परिपुरक जस्तै हुन् । दुवैबाट एक अर्कालाई निकै फाइदा पुगिरहेको हुन्छ ।

त्यसैले पशुपालन गर्दा कृषिअन्तर्गत अन्य सबै पेशालाई सहयोग पुगेको हुन्छ । यसरी हेर्दा राज्यले अघि सारेको अर्गानिक उत्पादनलाई त झन बढी सहयोग पुगिरहेको हुन्छ ।

जहाँ प्रशस्त वनजंगल, पानी, खेतीपातिको लागि जमिन पर्याप्त हुन्छ, त्यहाँ पशुपालनको बढी सम्भावना हुन्छ । पशुपालनको सम्भाव्यता बढेसँगै माछामासु, दूधलगायतका उत्पादन बढ्न थाल्छ, यसले पशुपालक कृषकहरूको आयआर्जन बढाउन सहयोग पुग्छ । दूध उत्पादन राम्रो भएको ठाउँमा डेरी क्षेत्र स्वतः राम्रो हुने नै भयो । यी सबै कारणले गर्दा नेपालमा डेरी क्षेत्र अत्यन्त राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

विगतका वर्षहरूको तुलनामा हेर्दा यस क्षेत्रमा लगानी पनि क्रमशः बढ्दैछ । हाल नेपालमा ३० अर्बभन्दा बढी निजी क्षेत्रका डेरी उद्योगमा मात्र लगानी भएको छ भने अर्बौं रुपैयाँ दुग्धजन्य उद्योगमा लगानी छ । नेपालमा अहिले दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ, दैनिक ५ करोड रुपैयाँ सहरबाट गाउँमा प्रवाह हुन्छ । देशभरि २० हजारभन्दा बढी मानिसले प्रत्यक्ष उद्योग स्तरमा रोजगारी पाएका छन् भने ५ लाखभन्दा बढी कृषक परिवारले रोजगारी पाएका छन् । अदृष्य तबरबाट अझ हजारौंले रोजगारी पाएका छन् ।

अहिले हाम्रो देशमा निर्वाहमुखी तबरले मात्र पशुपालन भइरहेका छ । यसलाई अझ व्यावसायिक तरिकाले गर्ने हो भने यसबाट अझ धेरै फाइदा लिन सकिन्छ । अहिलेको तरिकाले काम गर्दा लागत अत्यधिक महँगो पर्न गई यसबाट सोचे जति फाइदा लिन नसक्नुका साथै गुणस्तर पनि कायम गर्न कठिन भएको छ ।
पशुपालन पेशा सफल हुनका लागि अन्य धेरै कुराले फरक पारिरहेको हुन्छ ।

बिजुली, बाटो, बजार, आम मानिसको चेतनाको स्थर आदि कुराले पनि यो पेशालाई अप्रत्यक्ष रुपमा असर परिरहेको हुन्छ । जाडो, गर्मी, वर्षा, बादल प्राकृतिक रूपले देखिने अन्य कुराले पनि फरक पारिरहेको हुन्छ । नेपालमा हामी प्राविधिक तवरले अझ पनि धेरै पछाडि छौं । दूध उत्पादन नेपालमा सिजन अनुसार धेरै तलमाथि हुने गरेको छ ।

फागुनदेखि असोजसम्म कम उत्पादन हुन्छ भने कात्तिकदेखि माघसम्म बढी उत्पादन हुन्छ । दूध बढी उत्पादन हुने बेला खपत कम हुन्छ भने उत्पादन कम हुने बेला खपत बढी हुन्छ । बाहिरबाट हेर्दा यो पेशा जति सजिलो र राम्रो देखिन्छ भित्र पसेपछि यसका कथा व्यथा अलि भिन्न र फरक प्रकृति छन् । दूध अति नै संवेदनशील तरल खाद्यपदार्थ हो । यसको आयु एकामै छोटो हुन्छ । यसको आयु बढाउन दूध दुहुने बित्तिकै चिसोमा राख्नुपर्छ । तर हाम्रोजस्तो देशको सबै ठाउँमा यो सम्भावना छैन । कतै बिजुली छैन त कतै बाटो नै छैन ।

यसको बचावटको लागि घण्टौं बोकेर चिलिङ सेन्टरसम्म ल्याई राख्नुपर्छ । यसो गर्दा जति गुणस्तर कायम हुनुपर्ने हो त्यति कायम हुन सक्दैन । अर्को सबैभन्दा ठूलो मुख्य समस्या भनेको बढी भएको दूध व्यवस्थापन नै हो । हाम्रो देशमा दूध खपतको अवस्था पनि धेरै तलमाथि छ । घाम लाग्यो, गर्मी भयो दही, मही, आइसक्रिम आदि राम्रै बिक्री हुन्छ । चाडवाड आयो भने पनि अघिपछिको भन्दा निकै बढी खपत भइ बजारको व्यवस्थापन मिलाउनै कठिन हुन्छ । पानी प¥यो, झरिबादल भयो, चाडबाड भएन भने खपत निकै कम हुन गई भण्डारणको ठूलै समस्या भोग्नुपर्छ ।

काठमाडौं देशभरिको सबैभन्दा ठूलो बजार हो । यहाँको बजारमा काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका केही जिल्लाबाट दूध उत्पादनका क्षेत्र हुन्, जहाँबाट दूध आए पनि बजार सहज भएको बेलामा त केही भएन सहजै हुन्छ । जब बजारमा खपत कम हुन्छ, त्यतिबेला ठूलै समस्या हुन थाल्छ ।

यो डेरी क्षेत्रमा के हो भने दूध बढी भएको बेला धुलो दूध पाउडर बनाएर राख्ने र नपुगेको बेला त्यही धुलो दूध घोलेर दूध, दहीको माग पूरा गर्ने हो । हामी कहाँ पनि अहिले पछिल्लो समय यस्तै गर्न भनेर ३ वटा धुलो दूध कारखाना चितवन, पोखरा र विराटनगरमा सञ्चालन भइरहेका छन् । तर समस्याको कुरा के हो भने यो कहाँ खोल्ने? कतिवटा खोल्ने? चल्छ कि चल्दैन? यसमा समस्या के छ ? आदि–इत्यादि कुराको बारेमा कहिल्यै कहीँ पनि छलफल र बहस भएन । अहिले फेरि मकवानपुरमा पाउडर दूध कारखाना स्थापन गर्ने कुरा भइरहेको छ ।

चितवनमा अनि विराटगनरमा पाउडर दूध कारखाना हुँदाहुँदै किन त फेरि एकै ठाउँतिर अर्को धुलो दूध कारखाना ? दूधको ठूलो बजार काठमाडौं अनि दूध घटिबढीको समस्या पनि यहीँ बढी हुन्छ । तर धुलो दूधको कारखाना भने काठमाडौंबाट ३–४ सय किमि टाढा छ । जताबाट दूध ल्यायो फेरि बिक्री नभएर त्यतै धुलो दूध बनाउन लान पर्ने बाध्यता छ । अर्को कुरा धुलो दूध बनाउन लाँदाका पीडा त अझ कति छन् कति ? पाउडर बनाउन लानको लागि कम्तिमा पनि एक ट्यांकर दूध चाहियो । थोरै बेच्नेलाई त्यत्रो परिमाण पु¥याउनै कठिन हुन्छ ।

कतिपय डेरीको आफ्नो ट्यांकर नै हुँदैन र आवश्यक परेको बेला भाडामा ल्याउनुपर्छ । पाउडर बनाउन जाँदा १ दिन, फर्कंदा १ दिन अनि त्यहाँ कुर्न १ दिन गरेर ३ दिन समय लाग्छ । चितवनको दूध काठमाडौं ल्याउने, बढी हुँदा फेरि फर्काएर उतै लगेर पाउडर बनाउनु पर्ने हाम्रो बाध्यता छ । यसो गर्दा दोहोरो भाडा, समयको खर्च, गुणस्तरमा ह्रास, खर्चिलो हुने हुँदा पाउडर दूध बनाएर डेरी चलाउनु भनेको फलामको चिउरा चपाए सरह भएको छ ।

यो त धुलो दूध बनाउँदासम्मका समस्या भए । अब बनाइसकेपछिका समस्या अझ धेरै छन् । दूध बढी हुने समय भनेको कात्तिकदेखि माघसम्म हो । यो ६ महिनासम्म पाउडर दूध बनाएर बटर र पाउडर स्टकमा राख्दा किसानको दूधको भुक्तानी कसरी गर्ने ? डेरीहरूको भए जति चालू पुँजी स्टक पाउडर दूध र बटरमा रहेको हुन्छ । अनि, समयमा किसानको भुक्तानी दिन नसक्दा पछि फागुनदेखि असोजम्म दूध पाउन सकिंदैन । अहिले दैनिक अन्य खर्च धान्न समेत कठिन हुन्छ ।

अब राज्यले नेपालमा डेरी उद्योगी र यससँग सम्बन्धित किसानको हित गर्ने हो भने दूध बढी हुने स्थान र सबैलाई पायक पर्ने ठाउँमा पाउडर दूध कारखाना लगाउनु पर्छ । पाउडर दूध बनाएर स्टक रहने बेलासम्मका लागि शून्य ब्याजदरमा सम्बन्धित किसान र उद्योगीलाई ऋण उपलब्ध गराउनुपर्छ वा राज्यले नै पाउडर दूध कारखाना खोली बढी भएको दूध खरिद गरी आवश्यक हुनेलाई धुलो दूध उपलब्ध गराइ दिनुपर्छ ।

अन्यथा अहिलेको यो तरिकाले न किसानको हित हुन्छ न त उद्योगीको नै हित हुन सक्छ । नभए ब्याज तिरेर दूधको गुणस्तर विगारी ३ र ४ दिन लगाएर ६ र ७ महिनासम्म स्टक राख्ने गरि उद्योगीले किसानको दूध संकलन गरि मिल्क होली डे हुनबाट बचाई किसानको हित हुने कुरा सम्भावना छैन । राज्यले साँच्चै किसान र उद्योगीको हित चाहेको हो भने धुलो दूध बनाउने दूधलाई मात्र अनुदान दिन सक्छ । नेपालमा हाल ३ वटा धुलो दूध कारखानाको क्षमता करिब ३८ सय मेट्रिक टन जति छ भने नेपालमा आवश्यक करिब ४ हजार मेट्रिक टन बराबर नै छ । यही अनुपातमा जो जसले पाउडर बनाउँछन् उसलाई प्रति लिटरमा अनुदान दिँदा पनि समस्या केही मात्रामा भए पनि सहज हुन सक्छ ।

अब यो कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै कुरा बिग्रिएको छ । यो समयलाई मौकाको रुपमा सकारात्मक तरिकाले पनि लिन सकिन्छ । नेपाल अहिले दूधमा ८० प्रतिशत आत्मनिर्भर भइसकेको छ । अब करीब २५ र ३० लाख मानिस विदेशबाट बेरोजगार भई विदेश नफर्कने गरि स्वदेश आउने अनुमान गर्न सकिन्छ ।

यो समयमा ती विदेशबाट फर्केका मानिसलाई राज्यले अब सही नीतिनियम ल्याई सरल कर्जाको व्यवस्था मिलाई पशुपालनमा आकर्षण गर्न सक्ने हो भने बाँकी २० प्रतिशत नपुग दूध पनि उत्पादन हुन गई हामी दूधमा आत्मनिर्भर पनि हुन सक्छौं र रोजगारीको पनि सिर्जना हुन जान्छ । पशुपालनको विकास हुँदा वार्षिक २ खर्ब बराबरको आयात हुँने खाद्यान्नमा पनि केही कमी हुन जान्छ र समग्र कृषिको विकास हुन पुग्छ । अब सरकारले अगाडि सारेको सुखी नेपाली, समृद्ध नेपाल भन्ने मूल नारालाई साकार पार्न एक मात्र उपाय भनेको पशुपालनमा टेवा दिई समग्र कृषिको विकास नै हो ।

हाम्रो देश धेरै कुरामा सम्भावना हुँदाहुँदै अहिले धेरै कुराको अभावमा छ । आजको भोलि सबै कुरा पूरा हुन सक्दैन । सबैभन्दा बढी खर्च हुने भनेको खाद्यान्नमा    हो । खाद्यान्नका सम्पूर्ण कुरामा आयात बन्द गरि विस्तार निर्यात गर्न सकियो भने व्यापार घाटा पनि घट्न जान्छ । यसरी काम गर्न सके चाँडोभन्दा चाँडो हरेक कुराको विकास गर्न सकिन्छ ।

मनिसको सबैभन्दा धेरै खर्च नै खाद्यान्नमा हुने र त्यो नै सुलभ र सस्तोमा उपलब्ध गराउन सकियो भने देश विकासमा थप टेवा पुग्न सक्छ । आशा छ, देशका तीनै तहका सरकारले यसतर्फ ध्यान दिई आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउने नै छन् । यसले समग्र सबैको हित हुने छ र देश विकासमा पनि सहयोग पुग्ने छ । आजबाटै हामी सरोकारवालाहरू सबै लागौं र अबको केही वर्षमा आमुल परिवर्तन गरि दूग्ध क्षेत्रको विकाससँगै कृषि क्षेत्रको पनि विकासमा जुटौं ।