काठमाडौं । केही महिनाअघिसम्म विश्वका शायदै कसैले यस्तो खालको महामारी पनि आइलाग्छ भनेर सोचेका थिए ।
चीनको वुहान सहरबाट कोरोना भाइरसको महामारी फैलिन सुरु भएपछि पश्चिमा, खासगरी अमेरिकी शासकहरूले सुरुमा निकै हलुका रुपमा लिएको मात्र नभइ, लगभग खुच्चिऊँका शैलीमा समेत प्रस्तुत भए ।
एकबाट दुई, दुईबाट चार, चारबाट हजारका शैलीमा जब यो फैलियो, अनि विश्व त्रस्त भयो । सारा विश्व यसको संक्रमणमा परिसक्दा नेपाल पनि अछुतो रहन सक्ने अवस्था थिएन ।
जब माघमा पहिलो संक्रमित देखा परे, त्यही बेला नै नेपाल पनि सचेत हुनुपर्ने थियो, चैतमा बन्दाबन्दी अवलम्बन गर्नासाथै यो महामारीविरुद्ध लड्ने प्रतिरक्षा नीति पनि बलियो बनाउनु पर्ने थियो । काठमाडौंमा मात्र होइन, हरेक प्रदेश र मुख्य केन्द्रमा रहेका क्षेत्रीय अस्पतालहरूमा आइसोलेसन बेडहरू, आइसीयूहरूको पर्याप्त प्रबन्ध गर्नुपर्ने थियो, तर सरकार यस्तो पूर्वतयारीमा पूरै चुक्यो । चाडबाडको छेकोमा आइपुग्दा हजारौं व्यक्तिहरू संक्रमित भइसकेका छन्, कोरोनाकै संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या पनि दिनप्रतिदिन बढ्दै छ ।
एकै परिवारका तीन जनाको मृत्यु, थप तीन जना आईसीयूमा भन्ने समाचारहरूले कोरोना केही पनि होइन भन्ने हेलचेक्य्राइँमा नरमाउन सचेत गराइरहेको छ । विश्वभरिका स्वास्थ्य अनुसन्धानकर्ताहरू अहिले कोरोनाविरुद्धको खोप र अन्य अनुसन्धानमा जुटिरहेका छन् । रुस, चीन, अमेरिकासहित केही मुलुकले खोप बनाएको भनिए पनि त्यो अहिले ट्रयायल फेजमा नै छ ।
परीक्षणहरूपछि हामीजस्ता अल्पविकसित देशमा आइपुग्न अझै केही समय लाग्ने छ ।एकातिर यो अवस्था छ, अर्कातिर ६ महिनाभन्दा लामो अवधिसम्म लगाइएको लकडाउनका कारण उद्योग, व्यवसाय, पेशा, रोजगारका सबै चक्रमा गम्भीर र प्रतिकूल प्रभाव पारेको छ ।
भर्खरै विश्व बैंकले प्रकासित गरेको नेपालसम्बन्धी एउटा प्रतिवेदनले यो कोरोना भाइरसको महामारी र आर्थिक मन्दीका कारण नेपालका कम्तिमा पनि १ करोड ३० लाख नेपालीहरू चरम संकटमा परेको बताएको छ, जसका लागि तत्कालै सामाजिक सहयोगको आवश्यकता परेको छ ।
नेपालजस्तो अनौपचारिक अर्थतन्त्रमा आश्रित देशमा यो संकटले पारेको असर तथ्यांकले देखाउनेभन्दा पनि ठूलो हुन्छ, किनकी देशका दुई तिहाइ जनसंख्या कृषिमा नै आश्रित छन् ।
कृषिमा आश्रितहरूको पनि ठूलो हिस्सा ससानो अनुपातको जग्गाजमिन हुने साना किसानको छ । उद्योग–व्यवसाय, व्यापारका नाममा देशका ९८ प्रतिशत उद्योग–व्यवसाय साना तथा मझौला उद्योगी–व्यवसायीले धानिदिएका छन्, यीमध्ये आधाभन्दा बढी त कतै दर्तै नभइ सञ्चालनमा छन् ।
अनौपचारिक क्षेत्र भनिने कतै दर्ता नभएका वा राज्यको मूल प्रवाहमा नदेखिएका क्षेत्र वा व्यवसायमा कार्यरत ३५ लाखमध्ये आधाले यो अवधिमा रोजगारी, आयआर्जन पूरै गुमाएका छन् । यसले गर्दा नेपालमा थप ४ प्रतिशत नेपाली चरम गरिबीमा धकेलिएको अवस्था छ ।
यो यस्तो संकटपूर्ण अवस्था हो, जसबाट विश्वका सानाठूला सबै देशहरू गम्भीर रुपमा प्रभावित भएका छन् । अब कोरोना र साथमा रहेको आर्थिक संकटसँगै जीउनुको अर्को विकल्प छैन । यस्तो अवस्थामा विगतका भन्दा फरक ढंगले हाम्रा दैनिक क्रियाकलाप र जनजीविका कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय नै विश्वभरि बहस भइरहेको ‘न्यू नर्मल’को अवस्था हो ।
हामीसँग अहिले यसले केही अवसर र धेरै चुनौती सिर्जना गरिदिएको छ । अत्याधिक निर्भरताले हामीलाई कुनै न कुनै दिन संकटमा धकेल्ने रहेछ भन्ने यसले पाठ सिकाएको छ, त्यसैले हामी अब पुनः प्रकृतितिरै फर्कनुको विकल्प छैन । यसका लागि के गर्ने भन्ने प्रश्न आमरुपमा उठ्ने गर्छ । उत्तर हामीसँगै छ, हाम्रा बाबुबाजेले बचाउँदै आएका रैथाने सीप, कला, प्रविधि र ज्ञानलाई अब पुनः ब्युँताउनु पर्ने अवस्था आएको छ ।
विश्वभरिका विकसित देशका वैज्ञानिक र शोधकर्ताहरूले रोगप्रतिरोधी क्षमता बढाउने विकल्पहरूका खोजी गरिरहँदा हाम्रा पितापुर्खासँग भएका ज्ञानले धेरै रोग निको पार्नसक्ने विकल्पलाई हामीले बिर्सनु हुँदैन ।
यस्तै, नेपालका जडिबुटीमा मात्र रैथाने बाली, विरुवामा पनि यस्तो रोग प्रतिरोधी क्षमता बढाउने सामथ्र्य छ, जसलाई हामीले अब बचाउनु पर्छ, यदि लोप हुन लागेका भए ब्युँताउनु पर्छ र त्यसलाई व्यावसायिक उत्पादनसँग जोड्नु पर्छ ।
हाम्रा दैनिक क्रियाकलाप, जीवनशैली र रहनसहनमा पनि अब पुनरावलोकन गरेर स्वस्थ्य जीवन जीउनका लागि जीवनशैली बदलिनु पर्छ भन्ने पाठ यसले सिकाएको छ ।
प्रतिक्रिया दिनुहोस्