कर्पोरेट कर छली अनुसन्धानमा सक्रिय मैनाली अर्थमन्त्रालय तानिए


काठमाडौं । नेपालमा पछिल्लो समयमा ठूला भ्याट छलीदेखि बहुराष्ट्रिय कम्पनीहरूको कर छलीमा समेत सक्रियतापूर्वक अनुसन्धान गर्दै आएका राजस्व अनुसन्धान विभागका प्रमुख, सहसचिव दीर्घराज मैनाली अर्थमन्त्रालय तानिएका छन् ।

मैनालीले आन्तरिक राजस्व विभागका प्रमुखमा जानका लागि पहल गरेको भए पनि सरकारले उनलाई अर्थमन्त्रालयमा तानेको हो ।

मैनालीसँगै अर्थमन्त्रालयका अन्य सहसचिवहरूका पनि जिम्मेवारी हेरफेर गरिएको छ । सहसचिव गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको भने सो कार्यालयमा कार्यरत आनन्दप्रसाद काफ्लेलाई अर्थ मन्त्रालयमा तानिएको छ ।

यसैगरी, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको हो ।