काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने बताएका छन् ।
सिंहदरबारमा सोमबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले संसदीय समिति बनाएर निष्पक्ष छानविन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले अदालत, सरकार र समग्र राज्य संरचनालाई विचौलियामुक्त बनाउनुपर्नेमा सरकार स्वयं विवादमा जोडिएको बताए । सरकार आफैँ विचौलिया प्रकरणमा जोडिएकोले यसको छानविन सरकारले मात्रै गर्न नसक्ने उनको भनाइ छ ।
महामन्त्री पौडेलले प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपप्रति पनि आपत्ति जनाए । उनले दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप सुरक्षित र विकसित हुने अपेक्षा गरिएपनि पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए ।
सत्तारुढ दलका नेताहरूले पनि पत्रकारमाथिको हस्तक्षेपको विरोध गरेको उल्लेख गर्दै उनले सरकारका गतिविधिप्रति असहमति रहेको भएमा निष्पक्ष छानबिनको मागमा विपक्षीसँगै उभिनुपर्ने बताए ।
उहाँले संसद्को बैठक तत्काल बोलाउन र प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो । साथै विवादीत न्यायधीहरुमाथी महाभियोग लगाउने विषयमा अन्य विपक्षी दलहरूसँग समेत परामर्श गरेर अघि बढ्ने काँग्रेसको तयारी रहेको उहाँले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्