मुलुक अण्डा, कुखुरा र खशीको मासुमा आत्मनिर्भर, दूधमा आत्मनिर्भरउन्मुख


-अनुप आचार्य-

काठमाडौं ।

नेपाल कुखुरा, खसीको मासु र अण्डामा आत्मनिर्भर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुजन्य उत्पादनहरुमा मुलुक आत्मनिर्भर भएको घोषण गरेका छन् ।

आत्मनिर्भरताको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले घोषणा कार्यक्रममा मुलुक एक कदम अगाडी बढेको बताए । नेपाल पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएकोले अब निर्यात प्रवद्र्धनमा जोड दिनु पर्ने ओलीको भनाइ थियो ।

बिहीबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमकामा पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरिएको हो । आत्मनिर्भरनजिक रहेको दूूधमा पनि छिटै आत्मनिर्भर भएको घोषणा गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा अर्यालले बताइन् ।

कार्यक्रममा दूध ढुवानीको लागि प्रतिक चिन्ह (लोगो) कोसमेत घोषणा गरिएको छ । धुलो दूधको नयाँ प्याकेजको अनावरणको साथै पशुपन्छी तथा मत्स्य विकासका रणनीतिक कार्ययोजनाको कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रेमिटेन्स चल्छौ विदेश गएर पैसा कमाउँछु भन्ने भ्रम छोड्न उनले आग्रह गरे । “वैदेशिक रोजगारी हाम्रो समाजको अभिन्न अंग बन्यो जस्ले मान्छे अलिकति रेमिटेन्स बाहेक नेपाललाई बिगारेको छ,” उनले भने, “यसको लागि अब युवाले देशमै उत्पादनमुलक कृषि गर्न र उद्यम गर्न अनुरोध गरेका छन् ।”  आत्मनिर्भर बनाउन सहयोग पु¥याउने संस्था तथा व्यक्तिलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

बिहिबार नै नेपालमै उत्पादन भएको धुलो दुध पनि बजारमा ल्याइएको छ । दुुग्ध विकास संस्थानले उत्पादन गरेको ‘डेरी ह्वाइटनर’ बजारमा ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले इनर्जी ड्रिङ्सको साटो मोही खाने बानी गर्नुपर्ने बताए । “यो गर्मीमा कहाँँको इनर्जी ड्रिङ्स, मोही खानुपर्छ । इनर्जी ड्रिङ्स भनेको नक्कली पानी कहाँबाट बोकेर ल्याएको बासी पानी त्यो भन्दा मोही ठिक हुन्छ । मोहीमा ताकत हुन्छ जुन तत्वहरु मोहीमा हुन्छ इनर्जी ड्रिङ्समा कहाँ हुँन्छ?” ओलीले भने ।

नेपालले अब विदेश चकलेट निर्यात गर्नुपर्ने पनि बताए । हामी विदेश गएको बेला स्विजरल्याण्डको चकलेट बेल्जियमको चकलेट ल्याउँछौं । हामी हिमालयन चलकेट, माच्छापुच्छे, धौलागिरी, फेवा फोक्सुन्डो, कञ्चनजंघा, एभरेष्ट चकलेट किन नबनाउने भनेर प्रश्न गरे ।

कृषि मन्त्री पद्यमा अर्यालले आउदो वर्षको नीति तथा कार्यक्रममा अवको पाँच वर्षमा कृषि क्षेत्रमा आत्मनिर्भर मात्रै नभएर ठूलो मात्रामा निर्यात गर्ने योजना ल्याउने बताइन् । उनले निर्यात प्रवर्द्धनका लागि वाधक रहेको निश्चित पशुपन्छीका रोगहरु उन्मूलन तथा रोकथामका कार्यक्रममा मन्त्रालयले जोड दिइरहेको र अव निकट भविष्यमा नेपालका पशुपन्छीजन्य उत्पादनहरु निर्वाध विश्व बजारमा पुग्ने बताइन् ।

यस्तो छ पशुपंक्षी क्षेत्रको तथ्यांकः
गत आर्थिक वर्षमा नेपालमा २३ लाख एक हजार मेट्रिक टन दूध, पाँच लाख ४८ हजार मेटन मासु, एक अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेटन माछा उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब दुुई खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यबस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।

विश्व खाद्य तथा कृषि संगठनले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लि दूध, १४ केजी मासु, ४८ गोटा अण्डा उपभोगको लागि सिफारिश गरेको छ भने हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९ लि दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्धता रहेको छ ।

प्रत्येक बर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको छ । राँगा भैसीको आयात विगत २ वर्ष यता शुन्य छ ।