प्रतिबन्ध हटाएपछि पहिलोपटक विप्लव नेतृत्व नेकपाका नेता पक्राउ


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार राति सदरमुकामबाट सागर लिम्बुलाई पक्राउ गरेको हो । ताप्लेजुङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले लिम्बुलाई गत वर्षकोे विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ गरेको जानकारी दिए ।

गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध हटाउने र कार्यकर्तालाई रिहा गर्ने तथा सबै मुद्दा खारेज गर्ने सहमति भएको थियो । सहमतिपछि पनि विप्लवका सबै नेताहरू रिहा भइसकेका छैनन् भने प्रतिबन्ध हटाएपछि पक्राउ पर्ने लिम्बु पहिलो नेता हुन् ।

लिम्बु पक्राउपछि नेकपाले भने आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै मेची–कोशी ब्युरोका इन्चार्ज प्रकाशले लिम्बुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

उनले भनेका छन्“सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमतिपश्चात सरकारको तर्फबाट पूरा गरिनु पर्ने सहमतिको उल्लंघन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको छ ।”

उनले आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको भन्दै सरकारलाई प्रतिवद्ध बन्न आग्रह गरेका छन् ।