राष्ट्र बैंकको नयाँ निर्देशन, ‘स्थानीय निकायसँग समन्वय गरी बैंकिङ सेवा सुचारु गर्नु’


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एक चौथाइमात्रै कर्मचारी राखेर स्थानीय तहसँग समन्वय गरेर बैंकिङ कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ ।

आइतबार विभिन्न निकायबाट जारी भएका हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसंगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिंग सेवा प्रदान गर्ने लगायतका ७ बुँदे निर्देशन जारी गरिएको हो ।

कोभिड-१९ को दोस्रो लहर बढेर गएसँगै सरकारले लागू गरेको निषेधाज्ञा अवधिमा सकेसम्म न्यून कर्मचारी राखेर कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशनमा निषेधाज्ञा जारी भएका स्थानहरूमा केन्द्रीय कार्यालयका हकमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयका हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीमात्र उपस्थित भइ सेवा प्रवाह गराउन निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले नजिकै रहेका शाखाहरूको हकमा न्यून संख्यामा शाखा सञ्चालनमा ल्याइ वैकल्पिक शाखाबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । ‘विभिन्न निकायबाट जारी भएका हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसंगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिंग सेवा प्रदान गर्ने, ‘ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

केन्द्रीय बैंकले आइतबार नै विप्रेषण सेवा प्रदायक र भुक्तानी सेवा प्रदायका लागि पनि समान किसिमको छुट्टाछुट्टै निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंकको निर्देशनः

विश्वव्यापी रुपमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण दोस्रो लहर (Second Wave) को रुपमा फैलदै गएको र सोही रुपमा नेपालका विभिन्न स्थानमा समेत संक्रमण जोखिम दिनानुदिन बढ्दै गइरहेको, नयाँ भेरिएन्टको संक्रमणको दर उच्च रहेको र बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा सेवाग्राही समेतमा तीव्र रुपमा संक्रमण फैलिरहेको परिप्रेक्ष्यमा उच्च सतर्कताका साथ बैंक तथा वित्तीय संस्थाको सेवाको सुनिश्चितता गर्नुपर्ने देखिएकोले यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले देहायका व्यवस्थाहरु अवलम्बन गरी पूर्ण सजगताका साथ बैंकिंग सेवा प्रदान गर्न गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको व्यहोरा सूचित गरिन्छ ।

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अवलम्बन गर्ने ।

२. बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र न्यून कर्मचारीको उपस्थितिबाट कार्यसम्पादन हुने व्यवस्था मिलाउने कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरणको लागि निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउने कर्मचारीको अनावश्यक उपस्थिति रोक्नको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी Work From Home तथा Remote Access बाट कार्य सम्पादनलाई जोड दिने ।

३. नजिकै रहेका शाखाहरुको हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउने । यस किसिमको व्यवस्थापनको लागि बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा समाजिक सन्जाल समेतमा सेवासम्बन्धी सोधपुछको लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्ने ।

४. संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म Face to Face बैंकिंग सेवा भन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिने ।

५. विभिन्न निकायबाट जारी भएका हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसंगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिंग सेवा प्रदान गर्ने ।

६. महामारीको हालको अवस्थामा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका अधिकांश कार्य विद्युतीय माध्यमबाट सम्पादन गर्नुपर्ने भएकोले यसबाट उत्पन्न हुन सक्ने जोखिम तथा यसको दुरुपयोगप्रति समेत चनाखो रही आवश्यक जोखिम व्यवस्थापन गर्ने ।

७. यस बैंकबाट कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा यसअघि जारी गरिएका निर्देशनहरु परिपालना गर्ने गराउने व्यवस्था मिलाउने ।