निरन्तर ओरालो लागेको सेयर बजार बुधबार ५० अंकको वृद्धिसँगै छायो हरियाली


काठमाडौं । कारोबारको चौथो दिन बल्ल सेयरबजारमा हरियाली छाएको छ । साताको सुरुवात दिन देखि नै निरन्तर ओरालो यात्रा लागेको सेयरबजार आज भने ५० अंकको वृद्धिसँगै हरियाली छाएको छ ।

आज नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूह बढेको छ ।

आज कारोबारका आधारमा अपि पावर कम्पनी लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ६७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार सेयर बजारमा अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । आज दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार मेघा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ३.९२ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।