काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली अवतरण गरेका हुन् ।
प्रधानमन्त्री शाहलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागि छन् ।
यस्तै स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप–संयोजक विनय शाक्य सहभागी छन् । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य रहेका छन् ।
दिल्ली बसाइका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने तालिका रहेको छ ।
भ्रमणका अवसरमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी, दुवै देशका नेतृत्वहरूबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने जनाइएको छ।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी भोलि मंसिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।
भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्