सेयर धितो कर्जा सीमा फिर्ता लिन सेयर लगानीकर्ता संघको आग्रह


काठमाडौं । राष्ट्र बैंकले मौद्रिकनीतिमार्फत व्यवस्था गरिएको सेयर धितो कर्जा सीमा (४ करोड र १२ करोड) तत्काल फिर्ता लिन सेयर लगानीकर्ता संघ नेपालले नियामक निकायहरुसँग आग्रह गरेको छ ।

बुधबार संघका अध्यक्ष उत्तम अर्यालद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिमार्फत कार्यान्वयनमा ल्याइएको सीडी रेसियो पनि फिर्ता लिन आग्रह गरेको छ ।

विज्ञप्तिमा विगतका गल्तीहरु नियामक निकायहरुबाट दोहोरिरहेमा नेपालको पुँजीबजारले नराम्रो क्षति व्यहोर्नुपर्ने स्पष्ट पारिएको छ। ‘त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको काँधमा आउने हुँदा अर्थ मन्त्रालयलाई अत्यन्त जिम्मेवार हुन र आमलगानीकर्तालाई हतोत्साहित नहुन उच्च आत्मबलका साथ आफ्नो अमूल्य सेयर खरिदबिक्रीको निर्णय गर्दा अत्यन्त सोचविचार पुर्याउन हार्दिक अनुरोध गर्दैछौँ’, विज्ञप्तिमा भनिएको छ।

देशको राजश्वमा महत्वपूर्ण योगदान गर्न सफल र करिब ४५ लाख हितग्राही खातासहित देशको जनसंख्याको ४० प्रतिशत हिस्सासँगै प्रत्यक्ष सरोकार राख्ने एकमात्र क्षेत्र सेयर बजारमा राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले पारेको नकारात्मक प्रभावप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘संघले अर्थमन्त्रीलाई यस विषयमा विज्ञप्ति बुझाएर ध्यानाकर्षण गराएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘अर्थमन्त्रीबाट ४ करोड र १२ करोडको सीमा २ वर्षभित्र समायोजन गर्ने व्यवस्था मिलाउने र सीडी रेसियो अन्य सरोकारवाला पक्षसँगको सरसल्लाहमा पुनरावलोकन गर्न सकिने र बजारमा नकारात्मक प्रभाव परेमा तत्काल त्यस बुदाँलाई सच्याउन सधैँ तयार छु भन्नु्भएको प्रमाण हामीले सुरक्षित राखेका छौँ।’

सेयर बजारलाई आफ्नै गतिमा चल्न दिन पनि सघंले आग्रह गरेको छ। ‘माग र आपूर्ति, कम्पनीको वासलातका आधार, कम्पनीका भविष्यको व्यापारिक योजना र देशको आर्थिक अवस्थाको आधारमा सेयर बजार चल्नुपर्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।