नक्कली अग्रिम भुक्तानी जमानत बनाइ ४२ लाख हिनामिना गर्ने बैंकका कर्मचारीसमेत तीन जना विरुद्ध मुद्दा


काठमाडौं । नक्कली अग्रिम भुक्तानी जमानत बनाइ ४२ लाख हिनामिना गर्ने बैंकका कर्मचारीसमेत तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

नेपाल बैक लिमिटेड मंलगवा शाखा, सर्लाहीको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जनाको विरुद्धमा ४२ लाख बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेतालीरपाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा ४२ लाख रुपैयाँको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी गरी रकम हिनामिना गरेको पाइएपछि तीनै जनाको विरुद्ध मुद्दा दायर गरिएको हो ।

सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी माथि छानविन गर्दा रकम हिनामिना गरेको पुष्टी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम मंगलबार मुद्दा दर्ता गरिएको हो ।