जनकपुर उपमहानगरपालिकाद्वारा निर्माण कम्पनीलाई कबोलभन्दा ६ गुणाभन्दा बढी भुक्तानी


काठमाडौं । जनकपुर उपमहानगरपालिकाले ह्यान्ड पाइप जडान गर्ने कम्पनीलाई कबोल भन्दा झण्डै ६ गुणाबढी रकम भुक्तानी गरेको भेटिएको छ ।

उपमहनगरपालिकाले १८० रुपैयाँका दरले काम गर्ने सहमति भएको कम्पनीलाई ११९० रुपैयाँका दरले भुक्तानी दिएको खुलेको हो ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ को विभिन्न ठाउँमा ह्यान्ड पाइप जडानका लागि रविन्द्र कन्स्ट्रक्सनले रनिङ मिटरमा बोरिङ पाइप जडान गर्न १८० रुपैयाँमा कबोल गरेको थियो ।

तर भुक्तानी गर्दा ११९० रुपैयाँका दरले गरिएको पाइएपछि महालेखा परीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ । अधिक भुक्तानीलाई महालेखाले बेरुजु ठहर गरेको छ ।