काठमाडाैँ । हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर र क्षतिपूर्तिको कानूनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको छलफलमा सांसदहरूले यात्रुको समय, सुरक्षा र अधिकारलाई कानूनमै स्पष्ट गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले उडान रद्ध वा ढिलाइ हुँदा वैकल्पिक व्यवस्था र क्षतिपूर्ति, दुर्घटनामा घाइते वा मृत्यु भएमा उचित क्षतिपूर्ति तथा लगेज, मालसामान र तेस्रो पक्षको सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए ।
सांसदहरूले कानून निर्माणसँगै वायुसेवा कम्पनीको कडा नियमन, समयपालना र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे ।
नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपालमा हवाई पूर्वाधार र सेवा विस्तार भइरहेकाले त्यसअनुसार यात्रुको सुरक्षा, सेवाको गुणस्तर तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताए ।
मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा दंगालले हवाई क्षेत्रमा भएको विस्तारसँगै सम्भावित जोखिम व्यवस्थापन र वायुसेवा प्रदायकको जिम्मेवारीसमेत बढाउनुपर्ने बताए ।
उनकाअनुसार अहिले देशभर करिव ३५ वटा विमानस्थल सञ्चालनमा छन् भने आधा दर्जन विमानस्थल रात्रिकालीन उडानका लागि समेत सञ्चालन भइरहेका छन् । दर्जनौँ विमानस्थल पक्की अवस्थामा पुगेको र दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको समेत स्तरोन्नति भएको उनले बताए ।
हवाई क्षेत्रमा पूर्वाधार र सेवा विस्तारको तुलनामा यात्रु सुरक्षासम्बन्धी कानूनी व्यवस्था अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको दंगालको भनाइ छ । उनले यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्नुका साथै उडानका क्रममा चोटपटक लागेमा, मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति दिने व्यवस्था स्पष्ट हुनुपर्ने बताए ।
त्यस्तै, उडान रद्ध वा ढिलाइ हुँदा यात्रुले पाउने क्षतिपूर्तिको व्यवस्था पनि कानूनमै सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । दंगालले यात्रु मात्र नभई लगेज, मालसामान र तेस्रो पक्षको सुरक्षालाई समेत विधेयकले समेट्नु सकारात्मक भएको बताए । बीमासम्बन्धी व्यवस्थालाई समेत समेटेर यात्रु तथा अन्य पक्षको जोखिम सम्बोधन गर्न खोजिनु विधेयकको महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे ।
यसअघि हवाई यात्रुको सुरक्षा, क्षतिपूर्ति र बीमासम्बन्धी विषय विभिन्न ऐन, कार्यविधि तथा कानूनी व्यवस्थामा छरिएर रहेको भएपनि यात्रु सुरक्षालाई केन्द्रमा राखेर छुट्टै कानूनी व्यवस्था आवश्यक रहेको दंगालले बताए । उनले हवाई सेवा विस्तारसँगै वायुसेवा सञ्चालक कम्पनी तथा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउँदै यात्रुको अधिकार र सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दंगालले आन्तरिक हवाई सेवाको दायित्व स्पष्ट पार्ने गरी आएको विधेयकले यात्रु, लगेज र तेस्रो पक्षको सुरक्षालाई समेटेकाले सकारात्मक रहेको बताए ।
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा आन्तरिक हवाई सेवामा यात्रुको समयको मूल्यलाई बेवास्ता गर्ने प्रवृत्ति रहेको बताए । ढुंगानाले टिकट काटेर निर्धारित समयमा यात्रा गर्न खोज्दा उडान रद्ध वा ढिलाइ भए यात्रुलाई वैकल्पिक व्यवस्था नदिने प्रवृत्ति रहेको बताएका हुन् ।
उनले अत्यावश्यक कामका लागि हवाई यात्रा रोज्ने यात्रुले उडान रद्ध हुँदा ठूलो समस्या व्यहोर्नुपर्ने बताए । वायुसेवा कम्पनीले उडान नहुने जानकारी दिएपछि यात्रुलाई अर्को दिनको टिकटसमेत नपाउने अवस्था आउने गरेको भन्दै उनले यात्रुको समयको मूल्यलाई कानूनले सम्बोधन गर्नुपर्ने बताए ।
उडान रद्द वा निर्धारित समयमा हुन नसक्ने अवस्थामा यात्रुलाई वैकल्पिक रूपमा गन्तव्यसम्म पु¥याउने वा आवश्यक क्षतिपूर्ति दिने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनकाे भनाइ छ । ढुंगानाले नेपालको हवाई क्षेत्रको विकास अपेक्षाअनुसार हुन नसकेको भन्दै थाइल्याण्डसँग तुलना गर्दै मुलुकको हवाई क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको बताए ।
उनले विमानस्थल निर्माणमा समेत राजनीतिक दबाब हावी हुने गरेको टिप्पणी गरे । आवश्यकता र सम्भाव्यता अध्ययनभन्दा राजनीतिक प्रभावका आधारमा कतिपय स्थानमा विमानस्थल निर्माण गरिएको उनको भनाइ छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको विषयमा समेत उनले प्रश्न उठाए ।
भैरहवा विमानस्थलबाट उडानका लागि भारतसँग जोडिएको सुरक्षा तथा हवाई मार्गसम्बन्धी विषय पहिलेदेखि नै चुनौतीका रूपमा रहेको आफूले जानकारी पाएको ढुंगानाले बताए । उनले विमानस्थल निर्माणअघि नै अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई मार्ग, सुरक्षा तथा छिमेकी मुलुकसँगको समन्वयलगायत विषय सुनिश्चित गर्नुपर्ने उल्लेख गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले नेपालमा आन्तरिक हवाई सेवा अझै सुरक्षित र भरपर्दो बन्न नसकेको भन्दै तत्काल सुधार र प्रभावकारी नियमन गर्न सरकारसँग माग गरे । सुवेदीले हवाई दुर्घटना भएपछि लामो समयसम्म यात्रुमा विमान चढ्न डराउने अवस्था रहेको बताए ।
उनले नेपालमा आन्तरिक हवाई सेवाप्रति यात्रुको विश्वास कमजोर रहेको उल्लेख गर्दै विमान दुर्घटनाले समग्र हवाई यात्रामाथि नै नकारात्मक प्रभाव पार्ने गरेको बताए । सुवेदीले आन्तरिक उडानमा यात्रुको संख्या कम हुनु र विमानका सिट पूर्ण क्षमतामा प्रयोग नहुनु पनि चिन्ताको विषय रहेको बताएका हुन् ।
आफू पटक–पटक भैरहवा र नेपालगञ्ज जाने गरेको उल्लेख गर्दै उनले यात्रुले विमानस्थलमा लामो समय कुर्नुपर्ने तथा उडानसम्बन्धी अनिश्चितता व्यहोर्नुपरेको गुनासो गरे । उनले हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई समयपालना, यात्रुको सुविधा तथा सुरक्षाका विषयमा थप जिम्मेवार बनाउनुपर्ने बताए । सुवेदीले विदेशमा आन्तरिक हवाई सेवा ठूलो संख्यामा यात्रुले प्रयोग गर्ने भएपनि नेपालमा भने पर्याप्त यात्रु आकर्षित हुन नसकेको तुलना गरे । हवाई सेवा सुरक्षित, भरपर्दो र समयमै सञ्चालन हुने वातावरण बनाउन सके आन्तरिक यात्रुको संख्या बढ्न सक्ने उनको भनाइ छ ।
उनले प्रश्तावित विधेयकले कानूनी आधार तयार गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायले तत्कालै वायुसेवा कम्पनीको निगरानी तथा नियमन कडा बनाउनुपर्ने बताए । आन्तरिक हवाई सेवामा यात्रुको सुरक्षा, समयपालना र सेवाको गुणस्तर सुधार गर्न सरकार गम्भीर हुनुपर्ने सांसद सुवेदीको जोड छ ।


प्रतिक्रिया दिनुहोस्