टेलिकमकाे मोबाइल भुक्तानी सेवा ‘नमस्ते पे’ शुरू


काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले  नमस्ते पे मोबाईल वालेट सेवाको व्यावसायिक सञ्चालन मंगलबारबाट शुभारम्भ गरेकाे छ ।

कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई एवम् सिस्टमको विकास र परिक्षणमा संलग्न जनशक्तिलाई पारेको प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न ढिलो भएको टेलिकमले जनाएको छ ।

वि. सं. २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंक बीच औपचारिक समझदारी भएको थियो । २०७७ श्रावण १३ मा विधिवत रुपमा स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड मार्फत प्रदान गरिने नमस्ते पे प्रथम चरणको सेवा कम्पनी स्थापना भएको करिव १३ महिनाको अवधिमा सञ्चालनमा आएको छ ।

मंगलबार भएको शुभारम्भ कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप शुरू तथा ५०० शर्टकोड युएसएसडिबाट सेवा प्रयोग समेतको शुरुवात गरिएको छ ।

प्रयाेगकर्ताले एप इन्स्टल गर्न थालेका छन् तर एप भने चलेकाे छैन । खाेल्न खाेज्दा आफै बन्द हुने समस्या देखिएकाे हाे ।

एण्ड्रोइड सिस्टमको मोबाइल एप बेटा भर्सनमा एन्ड्राेइडमा मात्र उपलब्ध हुनेछ । आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले चाँडै सञ्चालनमा ल्याउने टेलिकमले जनाएको छ ।

स्मार्ट फोनको अलावा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको प्रयोग गर्न सकिने छ ।

हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिने छ । यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध रहेका छन्।

मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।