एकै वर्षमा रु. १ अर्ब ४२ करोड घाटामा हिमालय एयरलाइन्स, ब्याज तिर्ने क्षमतासमेत ऋणात्मक


काठमाडौँ । नेपाली र चिनियाँ कम्पनीहरूको संयुक्त लगानीमा सञ्चालित निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्स प्रालि एकै आर्थिक वर्षमा नाफाबाट १ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढी घाटामा पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा २० करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको हो ।

केयर रेटिङ्स नेपाल लिमिटेडले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ यता निरन्तर सञ्चालन नोक्सानी व्यहोर्दै आएको छ । कमजोर वित्तीय अवस्थाकै बिच कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाका लागि ‘केयर एनपी ए फोर’ रेटिङ प्राप्त गरेको छ ।

पछिल्लो अपरिष्कृत वित्तीय विवरणले कम्पनीको आम्दानी र नाफा दुवै तीव्र रूपमा खुम्चिएको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ३७ करोड ३० लाख रुपैयाँ र २०८१/८२ मा १४ अर्ब ६१ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी २०८२/८३ मा २१.७ प्रतिशतले घटेर ११ अर्ब ४३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । मध्यपूर्वको द्वन्द्वका कारण हवाई इन्धनको मूल्यवृद्धि, केही गन्तव्यमा उडान अवरोध तथा यात्रु मागमा आएको कमीलाई कम्पनीले आम्दानी घट्नुका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

यद्यपि, सञ्चालन आम्दानी घट्नु मात्रै कम्पनीको समस्याको कारण होइन। अघिल्लो वर्ष करिब १० प्रतिशत रहेको नाफा मार्जिन ऋणात्मक बनेको छ भने कुल नगद प्रवाहसमेत ऋणात्मक अवस्थामा पुगेको छ । यसले कम्पनीको लागत नियन्त्रण, वित्तीय व्यवस्थापन तथा व्यावसायिक रणनीतिमा गम्भीर चुनौती देखिएको सङ्केत गरेको प्रतिवेदनले औल्याएको छ ।

लगातारको सञ्चित नोक्सानीका कारण कम्पनीको वास्तविक नेटवर्थ विगत तीन वर्षदेखि ऋणात्मक रहेको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष २.१७ गुणा रहेको ब्याज भुक्तानी क्षमता (इन्ट्रेस्ट कभरेज रेसियो) आर्थिक वर्ष २०८२÷८३ मा ऋणात्मक बनेको छ ।

त्यस्तै, चालु अनुपात ०.७९ गुणाबाट घटेर ०.६८ गुणामा झरेको छ । आन्तरिक नगद प्रवाह ऋणात्मक भएपछि जहाजको लिज शुल्क, कर्जाको साँवा–ब्याज तथा मर्मतसम्भारजस्ता नियमित दायित्व पूरा गर्न समेत कम्पनीले उपलब्ध तरलता र सेयरधनीको वित्तीय सहयोगमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९९७ मा स्थापना भएको कम्पनीले सन् २०१४ मा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडलाई रणनीतिक साझेदारका रूपमा भित्र्याएपछि बजार विस्तारको लक्ष्य राखेको थियो । तर, एक दशक बितिसक्दा पनि कम्पनीसँग चारवटा विमान मात्र रहेका छन्। तीमध्ये १८० सिट क्षमताका तीनवटा एयरबस ए३२०–२१४ र १४४ सिट क्षमताको एउटा एयरबस ए३१९–११५ विमान छन् । सीमित जहाज भएकाले एउटा विमानमा मात्रै प्राविधिक समस्या वा मर्मतसम्भारको आवश्यकता परे पनि उडान तालिका प्रभावित हुने र आम्दानीमा प्रत्यक्ष असर पर्ने जोखिम कम्पनीले खेपिरहेको छ ।

विगत तीन वर्षमा औसत ७५ प्रतिशत यात्रु अकुपेन्सी कायम रहे पनि त्यसलाई दिगो मुनाफामा रूपान्तरण गर्न कम्पनी असफल भएको देखिन्छ । आन्तरिक चुनौतीसँगै बाह्य वित्तीय जोखिमले पनि कम्पनीमाथिको दबाब बढाएको छ । जहाज लिजलगायतका प्रमुख दायित्व अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने तर आम्दानीको ठुलो हिस्सा नेपाली रुपैयाँमा प्राप्त हुने भएकाले डलरको विनिमय दर बढ्दा कम्पनीको वित्तीय भार थप चर्किने गरेको छ ।

यही वित्तीय अवस्थाबिच केयर रेटिङ्सले कम्पनीको २ अर्ब १७ करोड ९८ लाख रुपैयाँको नन–फन्ड–बेस्ड कर्जा र ८२ करोड २ लाख रुपैयाँको प्रस्तावित अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ ।

रेटिङ एजेन्सीले उड्डयन क्षेत्रमा चार दशकभन्दा बढी अनुभव भएका सञ्चालक तथा उपाध्यक्ष विजयबहादुर श्रेष्ठसहितको व्यवस्थापन टोली, अन्तर्राष्ट्रिय हवाई यात्राको दीर्घकालीन सम्भावना तथा नयाँ प्रतिस्पर्धी प्रवेश गर्न कठिन हुने कानुनी र पुँजीगत संरचनालाई कम्पनीका सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ ।

तर, घट्दो आम्दानी, लगातारको सञ्चित नोक्सानी, ऋणात्मक नेटवर्थ, कमजोर नगद प्रवाह तथा ब्याज भुक्तानी क्षमता ऋणात्मक बन्नुजस्ता सूचकहरूले हिमालय एयरलाइन्सको वित्तीय अवस्था अझै दबाबमा रहेको देखिएको छ। कम्पनीले आम्दानी वृद्धि र लागत नियन्त्रणमा ठोस सुधार ल्याउन नसके आगामी दिनमा वित्तीय चुनौती झन् गहिरिन सक्ने संकेत प्रतिवेदनले गरेको छ।