मणिपाल कजेल किनबेच बिवाद बारे संसदीय समितिकाे छानविन शुरू


काठमाडौं । पोखरामा रहेको मणिपाल कलेज किनबेचबारे संसदीय समितिले छानविन अगाडि बढाएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकार र मणिपाल कलेजबीच भएको सम्झौता उपलब्ध गराउन र बिक्रीबारे सत्यतथ्य बुझी समितिलाई जानकारी गराउन भनेको छ ।

समितिले ‘नपाल सरकार र मणिपाल कलेजबीच भएको सम्झौता शिक्षा तथा स्वास्थ्य समितिमा उपलब्ध गराउने र सो सम्बन्धमा मणिपाल कलेज बिक्री भएको भन्ने समाचारहरू आएकोले सो विषयमा सत्यतथ्या बुझी समितिलाई जानकारी गराउनुपर्ने’ निर्देशन दिएको हो ।

मणिपाल अस्पताल सञ्चालन गर्दै आएको भारतीय समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले नेपाल सरकारलाई औपचारिक रूपमा थाहै नदिइ बापो (बतास–पौडेल) होल्डिङ्सलाई अस्पताल र यसले चर्चेका जग्गासमेत बिक्री गरेको समाचार सार्वजनिक भएको थियो ।

मणिपाल ग्रुपले ३ अर्ब २५ करोड रुपैयाँमा बापो होल्डिङ्सलाई मणिपाल बिक्री गरेको भनिएको छ । सो बिक्रीबापत मणिपाल ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने अग्रिम आयकर, आकस्मिक लाभ कर र पुँजीगत लाभकरसमेत नबुझाएको आरोप लागेपछि संसदीय समितिले छानविनको तयारी गरेको हो ।

नेपाल सरकार र मणिपाल अस्पतालबीच भएको सम्झौताअनुसार सो जग्गा ४९ वर्षपछि वा बीचमा छोडिजानु पर्ने भएमा उक्त जग्गामा उपलब्ध (निर्मित) भौतिक सुविधाहरू अरुलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा नै नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सर्तनामा भएपनि बिक्री गरिएको भन्दै विरोध भइरहेको छ ।

भारतको प्रख्यात मणिपाल ग्रुपले सन् १९९२ अक्टोबर १८ मा नेपाल सरकारसँग सम्झौता गरी पोखरामा मेडिकल कलेज सहितको शिक्षण अस्पताल सञ्चालन गर्दै आएको थियो ।

मणिपाल समूहले सरकारसँग फूलबारी र दीपमा १ सय ६० रोपनी जमिन ४९ वर्षका लागि भाडा (लिज)मा लिइ सन् १९९४ मा मणिपाल अस्पताल सञ्चालन गर्दै आएको थियो ।

सन् १९९८ मा ७ सय ५० बेडको अस्पताल स्थापना भइ सञ्चालनमा रहेको छ । हाल अस्पतालको मुख्य संरचना रहेको ४० रोपनी जमिनको लालपूर्जा मणिपालकै नाममा छ ।

बाँकी १ सय ६० रोपनी सरकारी जमिनमा होस्टेल, कर्मचारी क्वार्टर, खेलकुद मैदानलगायत संरचना छन् । बिक्रीका विषयमा विवाद चलिरहेकासंसदीय समितिले छानविन अगाडि बढाएको हो ।