नेप्से सोमबार पनि ७३ अंकले ओरालो लाग्यो, दशैंको जोहो गर्न शेयर बेचे लगानीकर्ताले


काठमाडौं ।  साताको दोस्रो दिन पनि सेयर मापक परिसूचक नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ । राष्ट बैंकको १२ करोडको क्याप र बैंकहरुले निक्षेपको व्याजदर बढाउँदा सेयरबजार प्रभावित बनेको लगानीकर्ता बताउँछन् ।

अहिले बजारमा ठुला लगानीकर्ताहरुले सेयर होल्ड गरेर बसेको भने साना तथा केही लगानीकर्ताले ओरालो लागेकै अवस्थामा पनि आत्तिएर दशैंको जोहो गर्न सेयर बेचेको एक लगानीकर्ताले बताए ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ अंकमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सूचक घटेको छ ।

कारोबारका आधारमा आज पनि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक अगस्थानमा रहेको छ । कम्पनीको १५ करोड ४९ लाख ७१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । आज कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको एक करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।