एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न संघको माग


काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न तथा दक्ष जनशक्ति परिचालन र अनुगमनमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

संघका अध्यक्ष सुनिलकुमार वंशल नेतृत्वको प्रतिनिधिमण्डलले आज आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटेर आग्रह गरेको हो ।

भेटपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“सरकारले उद्यमी, व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्ष जनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यान दिन आग्रह गरेको छ ।”

भेटका क्रममा घरबहाल करको दर १० बाट ५ प्रतिशत कायम गर्न तथा ड्यामेज भएका वस्तु नष्ट गरेको अनुगमन गरी प्रमाणित गर्ने छुट्टै निकायको आवश्यकतामा पनि संघले जोड दिएको छ ।

संघले भनेको छ,“सीमा क्षेत्रबाट भइरहेको मदिरा चोरी पैठारीले ठूलो राजस्व गुमिरहेको र त्यसबाट कानुनी रुपमा ती वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई अप्ठेरो परेको विषयमा पनि महानिर्देशक पौडेलको ध्यानाकर्षण गराइयो ।”

जवाफमा महानिर्देशक पौडेले संघले उठाएका जायज विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । उनले १.५ प्रतिशत राजस्व तिरेर मिसम्याचको समाधान गर्न पाइने स्किम सरकारले ल्याएको भन्दै त्यसबाट लाभान्वित हुन व्यवसायीलाई आग्रह गरे ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा लामो समयदेखि विवरण नबुझाएर नवीकरण नभएका कम्पनीहरूलाई यसअघि जरिवानाको १० प्रतिशत राजस्व बुझाएर नवीकरण गर्न समय दिइएकोमा अहिले त्यसलाई पनि घटाएर ५ प्रतिशत कायम गरेको जानकारी दिँदै सोको फाइदा लिन पनि महानिर्देशक पौडेलले आग्रह गरेको महासचिव मदन मित्तलले जानकारी दिए ।