‘हाइप्रोफाइल’हरूको अवैध धन आर्जनको खुलासा-‘प्यान्डोरा पेपर्स’ आज सार्वजनिक हुने


काठमाडौं । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आईसीआईजे)ले ‘पनामा पेपर्स’ नामक नामक आर्थिक घोटाला प्रकरण सार्वजनिक गरेको पाँच वर्षपछि ‘प्यान्डोरा पेपर्स’ नामक अवैध धन आर्जन र कारोबारको अर्को ठूलो खुलासा आज सार्वजनिक गर्दैछ ।

विश्वका ११७ देशका १५० सञ्चार संस्थामा संलग्न ६०० भन्दा अधिक खोज पत्रकारहरूले ती देशका प्रमुख व्यक्तिहरूको अवैध धन आर्जन र कारोबारसम्बन्धी मामिलामा अनुसन्धान गरेर यो ‘प्यान्डोरा पेपर्स’ तयार गरिएको हो । ‘प्यान्डोरा पेपर्स’मा विश्वभरिको अवैध धन आर्जन र आर्थिक कारोबारसँग १ करोड १९ लाख फायलहरू रहेको आईसीआईजेले जानकारी दिएको छ ।

यो अन्तर्राष्ट्रिय आर्थिक घोटाला प्रकरणमा पूर्व र वर्तमान विश्व नेताहरू, प्रतिष्ठित व्यापारी, कलाकारहरू र उच्च पदस्थ अधिकारीको वित्तीय कारोबारको जानकारी समावेश रहेको आईसीआईजेले जनाएको छ । प्यान्डोरा पेपर्समा नेपालका  राजनीतिक संरक्षण प्राप्त विभिन्न ‘हाइप्रोफाइल’ भएका व्यक्तिहरू र तिनको अवैध धन आर्जन तथा कारोबारका विषयमा गरिएको अनुसन्धान समावेश छ ।

नेपालमा खोज पत्रकारिता केन्द्रका पूर्वसम्पादक शिव गाउँले र वर्तमान सम्पादक किरण नेपालको संयोजकत्वमा करिब एक दर्जन पत्रकारले ११ महिना लगाएर यो अवैध धन र कालो कारोबारसँग सम्बन्धित करिब १००० फायलको अनुसन्धान गरेका थिए ।

विश्वमा पत्रकारिताको इतिहासमा सबैभन्दा ठूलो अनुसन्धान टोलीले सम्भव बनाएको डाटा संकलन र सहयोगका हिसाबले पानडोरा पेपर्स पनामा पेपरभन्दा ठूलो मानिएको छ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय कन्सोर्टियम (आईसीआईजे)मा नेपालबाट कुन्द दीक्षित र शिव गाउँले सदस्य छन् ।