छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने


काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

हिजो सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणहरुले गर्दा यस कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मे वा) को लागतमा केहि वृद्वी भएकाले यस आयोजना निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकमको लागि हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले आयोजना सम्पन्न गर्नको लागि आयोजनामा लगानी गरीरहेका बैंक अफ काठमाण्डु लिमिटेड र कुमारी बैंक लिमिटेड समक्ष माग गर्ने र उक्त दीर्घकालिन ऋण प्रस्तावित हकप्रद सेयर जारी गरी भूक्तानी गर्ने निर्णय गरेको छ । कम्पनीको तत्काल चुक्ता पूँजीको ४० प्रतिशत (३० प्रतिशत हकप्रद सेयर वितरण पश्चात) हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोग समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल स्वीकृतीका लागि बोर्ड समक्ष पेश भएको ३० प्रतिशत हकप्रद सेयर जारी पश्चात चुक्ता पूँजी रु. ३८ करोड ६९ लाख ७७ हजार ५ सय रूपैयाँ हुनेछ । तत्पश्चात हाल स्वीकृतीका लागि प्रस्तावित ४० प्रतिशत हकप्रद सेयर निष्कासन पश्चात् चुक्ता पूँजी ५४ करोड १७ लाख ६८ हजार ५ सय रूपैयाँ हुनेछ ।

उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको कम्पनीका सचिव रमेश कुमार थापाले बताए ।