वर्षाले धानमा पुराएको क्षतिले खाद्य सुरक्षामा समेत आच आउन सक्छ : राष्ट्रिय किसान आयोग


काठमाडौं । राष्ट्रिय किसान आयोगले वर्षाले धानमा पुराएको क्षतिले खाद्य सुरक्षामा समेत आँच आउन सक्ने चेतावनी दिएको छ ।

आज विज्ञप्ति जारी गर्दै भनेको छ,“ धान थन्काउन समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षा, बाढी र डुवानले किसानसमेत मुलुकको अर्थतन्त्रले नै भारी मात्रामा क्षति व्यहोर्नु परेको छ मुलुकको प्रमुख खाद्यबालीको रुपमा रहेको धानमा भएको यस प्रकारको क्षतिले खाद्य सुरक्षामा समेत आच आउन सक्ने स्थिति नरहला भन्न सकिन्न ।”

वर्षा बाढी र ड्वानले सिर्जना गरेको यस विषम परिस्थितिबाट धानमा भएको क्षतिको यथार्थ विवरण संकलन किसानलाई राहत, क्षतिपूर्ति पुनस्थापनासमेतका अन्सकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर्न राष्ट्रिय किसान आयोगले सरकारसमक्ष अपिल समेत गरेको छ ।

त्यस्तै धान उत्पादन गर्ने किसानमाथि परेका यो विपत्तिमा सहयोग गर्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई आयोगले अपिल गरेको छ ।

यसवर्ष समयमै मनसुन भएका कारण धान उत्पादन बढ्ने अपेक्षा गरिएको र अपेक्षित हिसावले उत्पादन पनि भएको आयोगको भनाई छ । तर, विगत केही दिनयता देशका विभिन्न जिल्लाहरुमा परेको अविरल वर्षा, वाढी र डुवानका कारण भित्र्याउन लागेको धान ठुलो पैमानामा खेतमै नष्ट भएको र यसबाट मुलुकभरका किसानले ज्यादै ठूलो क्षति व्यहोर्नु परेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।