‘कृषि सूचना प्रणाली व्यवस्थित गर’


काठमाडौं । कृषि पत्रकारहरुको संस्था एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले पोष्ट मनसुनका कारण कृषि क्षेत्रमा परेको प्रभावप्रति दुःख व्यक्त गर्दै कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

अनाजले कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा क्षति बढेकोतर्फ सरकारको ध्यानकर्षण गराउँदै कृषि सूचना प्रणाली सुधार गर्न आव्हान गरेको छ । तराई क्षेत्रमा धानबालीमा क्षति पुग्दा आर्थिक वृद्धिदरमा प्रभावित पार्ने देखिएको छ तथा खाद्य सुरक्षामासमेत गम्भीर असर पर्नेप्रति चिन्ता व्यक्त गरिएको हो ।

“प्राकृतिक प्रकोप एक्कासी नै आउने हो तर आवश्यक पूर्व तयारी गरिएमा यसको असर न्युनिकरण गर्न सकिन्छ” बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “यसपालीको असर बढी हुनुमा कृषि सूचना प्रणाली व्यवस्थित नहुनु पनि मुख्य कारणको रुपमा देखिएको छ । मौसम पूर्वानुमानको तथ्यांक कृषकले बुझ्ने भाषामा, समयमै पु¥याउने व्यवस्था प्रभावकारी नहुँदा क्षति बढी भएको कुरा मनन गरेर सरकारले भविष्यमा प्राकृतिाक प्रकोपको असर न्युनिकरण गर्न आवश्यक कदम चाल्नुपर्दछ ।”

अनाजले तीन तहका सरकारबीच आवश्यक समन्वय हुन नसक्दा कुन क्षेत्रमा कति असर परेको छ भनेर यकिन भन्न सकिने अवस्था नरहेको भन्दै आपत्ती जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “तीनै तहका सरकारको सहज समन्वय हुने संयन्त्र बनाई कृषि क्षेत्रको विकासमा गम्भीर बन्नु सरकारको दायित्व हो, यसमा सरकारले ध्यान देओस् ।”

सरकारले उपलब्ध गराउने भनिएको सामान्य राहतले कृषकको पीडा कम नहुने भएकाले क्षतिपूर्ति उपलब्ध गराउनमा जोड दिइएको छ । “प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने दैवी प्रकोप राहत सम्बन्धि समितिले गरेको सिफारिसमा दिइने राहतले किसानको मेहनत उठ्दैन,” विज्ञप्तिमा उल्लेख छ, “किसानलाई यस्तो औपचारिकताको राहतमात्र हैन, भएको क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराइयोस् ।”

आवश्यक परे नीतिगत सुधार समेत गरेर किसानको हितमा निर्णय हुनुपर्ने अनाजले बताएकोछ । यो वर्ष मात्र नभइ आगामी वर्षहरुमा प्राकृतिक प्रकोप आइपरे पनि सरकारले सहयोग गर्छ भनेर ढुक्क हुने वातावरण बनाउन जोड दिइएको छ ।

“क्षतिको यकिन विवरण तयार गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुले आआफ्नो तरिकाले काम सुरु गरिसकेको अवस्था छ,” विज्ञप्तिमा भनिएका छ, “तर तीनै तहका सरकारबीचको समन्वयबाट मात्र वास्तविक तथ्यांक तयार हुने भएकाले आवश्यक समन्वय गर्दै किसानलाई यथासक्य राहत र क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरियोस् भन्ने जोडदार माग गर्दछौं ।”

अनाजमा बाढीपहिरोले कृषि क्षेत्रमा पारेको असर बारे सरोकारवालालाई ध्यानाकर्षण गराउन संचारजगतले खेलेको भूमिकाको प्रसंशा गरेको छ।

भाइरल हुने ध्याउन्नमा कृषकको आत्मबलमा नकारात्मक असर गर्ने सामग्री सम्प्रेषण नगर्न/नगराउन तथा पत्रकार आचारसंहिताको पालना गर्दै संयमित भएर संचार सामग्री प्रकाशन/प्रशारण गर्न गराउनसमेत मिडियाकर्मीलाई अनुरोध गरिएको छ ।