सरकारले १० हजार रुपैयाँ दिन अति विपन्न परिवारलाई निवेदन आव्हान


काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयले बिहीबार १५ दिने सूचना जारी गरी योग्य परिवारलाई निवेदन आह्वान गरेको हो ।

मन्त्रालयले सूचना प्रकाशित गरेको १५ दिनभित्र आफू बसोबास गरिरहेको स्थायी वा अस्थायी वडा कार्यालयमा पुगेर परिवारले निवेदन दिनुपर्नेछ ।

सरकारले अघिल्लो साता कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने सम्बन्धी कार्यविधि अघिल्लो साता सार्वजनिक गरेको थियो । सो कार्यविधि अनुसार योग्यता पुगेका परिवारले दिएका निवेदन मात्र योग्य हुने छन् । सरकारले यो पटक पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले अनुदान बाँडैदछ ।

सरकारले विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसर नपाएका बेरोजगार असंगठित क्षेत्रको मजदुर वा कामदारले उक्त रकम पाउनेछन् ।

त्यस्तै खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोका आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी र दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर र सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियाले समेत यो सहायता पाउने सूचनामा उल्लेख गरिएको छ ।

कोभिड–१९ को संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार वा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत रकम पाउने छन् ।

सहायता पाउने सूचीमा रहेका परिवारमा समेत निवेदन दिने समयमा सो घरको कुनै एक सदस्य पनि सरकारी, निजी वा संघसंस्था तथा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा काम गरी आयआर्जन गरिरहेको अवस्थामा छन् भने यी परिवारले उक्त रकम पाउने छैनन् ।
नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक, एकल महिला, दलित वा अपांग वा नेपाल सरकार र विदेशी सरकारको निवृत्तिभरण पाउने परिवारले समेत यो रकम दाबी गर्न नपाउने मन्त्रालयले जनाएको छ ।

त्यस्ते संचित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पुरा गर्न सक्ने परिवारले समेत रकम प्राप्तिमा अयोग्य हुने भएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रमबाट राहतका रुपमा नगद पाइसकेका व्यक्तिले समेत रकम नपाउने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।