नेप्से दोहोरो अंकले बढ्यो, महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार


काठमाडौं । तिहारपछि कारोबार भएको ४ दिन नै घटेको सेयर बजारले आज भने उकालो लागेको छ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि बढेको छ ।

अहिले सूचिकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् भने मौद्रिक नीतिको समिक्षा पनि छिट्टै नै हुँदैछ । जसले गर्दा आम लगानीकर्ता सकरात्मक बनेको लगानीकर्ता बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ४.१० अंकले बढेर ५०६.५४ अंकमा पुगेको छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको नेप्सेले जनाएको छ । सोमबार कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३५ करोड ४६ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । त्यस्तैगरी तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको छ । कम्पनीको सेयरमूल्य ४.८८ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।