राष्ट्र बैंकद्वारा तीन महिनामा १० खर्ब तरलता प्रवाह


काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७८/७९ को पहिलो ३ महिनामा कुल रु १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अवधिमा रिपो मार्फत रु १० खर्ब ८५ अर्ब ५० करोड र स्थयी तरलता सुविधा मार्फत रु ८ खर्ब २२ अर्ब ६८ करोड तरलता प्रवाह गरेको हो ।

समीक्षा अवधिमा निक्षेप संकलन उपकरण मार्फत रु ३१ अर्ब ६५ करोड र रिभर्स रिपो मार्फत रु २८ अर्ब ३५ करोड गरी कुल रु ६० अर्ब तरलता प्रशोचन गरेको छ ।

अघिल्लो वर्ष पनि सोही अवधिमा रिभर्स रिपो मार्फत रु ६० अर्ब तरलता प्रशोचन गरिएको थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट रु २४ करोड ७६ लाख अमेरिकी डलर खरिद गरी रु २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा विदेशी विनिमय बजारबाट १ अर्ब २४ करोड अमेरिकी डलर खरिद गरी रु १ खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको थियो ।

अमेरिकी डलर ९४ करोड बिक्री गरेर १ खर्ब ११ अर्ब ५३ करोड बराबरको भारतीय रुपैँया खरिद गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा ८४ करोड अमेरिकी डलर बिक्री गरेर ९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैँया खरिद गरेको थियोे ।