यस्तो बन्यो नाडाको नयाँ कार्यसमिति, हेर्नुहोस् कुन व्यवसायीको के व्यवसाय ?


काठमाडौं । अटोमोबाइल ब्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यसबाट व्यवसायी ध्रुव बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ ।

ध्रुव बहादुर थापा अटोमोबाइल उत्पादनको कारोबार गर्ने ५ वटा कम्पनी संलग्न हिमालय अर्गनाइजेसनका संस्थापक हुन् । उनी फोर्स गाडीको आधिकारिक बितरक आयाम इन्टरकिन्टनेन्टलका अध्यक्ष समेत छन् ।

त्यसैगरी सदस्यमा विजयी मिलन बाबु मल्ल यामाहा मोटरसाइकलको डिलर रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक हुन् । उनी यामाहा मोटरसाइकल र जेसिबी इक्विपमेन्टको बिक्रेता हुन् । उनले उपत्यकामा मात्र यामाहाको ३ वटा शोरुम चलाउँछन् । अनुपकुमार बराल सुजुकी गाडीको वितरक नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक हुन् । उनले ललितपुरको बालकुमारीमा सुजुकी गाडी र टीभीएस मोटरसाइकलको शोरुम चलाउँदै आएका छन् ।

राजनबावु श्रेष्ठ सिप्रदी कम्पनिजका सीईओ हुन् । उनी संलग्न सिप्रदी कम्पनिजले नेपालमा टाटा ब्रान्डका कमर्सियल एवं प्यासेन्जर कार, एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स, मिसेलिन टायर र पुराना गाडीको खरिदबिक्री तथा सट्टापट्टासम्मको व्यवसाय गर्दै आइरहेको छ । सिप्रदी नेपालको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीका रुपमा समेत परिचित छ ।

नेपालका लागि सिएट टायर, इएनआई लुब्रिकेन्ट्स र हिटाची ब्याट्रीको आधिकारिक बिक्रेता सुरेन्द्र उप्रेती संलग्न एसटिसी ग्रुपले भेरोक, एएसके, युकाल, एफसिसी, लुमाक्स, प्रिकोल र अन्य ब्रान्ड समेत गरी डेढ दर्जन ब्रान्डका स्पेयर पार्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । उनले कारोबार गर्ने यी सबै ब्रान्ड ओईएममा सप्लाई हुने प्रख्यात उत्पादन हुन् ।

सुनिल रिजाल भावना विजनेस लिंकका म्यानेजिङ डाइरेक्टर हुन् । उनी कार्यरत कम्पनी र विभिन्न ग्रुपले टाटा अटोकम, टाल, आईपीएच आदि कम्पनीका उत्पादन देखि आनन्द ग्रुपका विभिन्न स्पेयर पार्ट्स नेपालमा उपलब्ध गराइरहेको छ । त्यसैगरी मिको वाटर पम्प, जुपिटर क्लिप, आरडीएसका कम्पोनेन्ट, एआरबी बेरिङ, लुमन फिल्टर, स्प्रिङ पट्टा, एसीआई बेरिङ तथा विभिन्न खुद्रा स्पेयर पार्ट्स उनीहरुको समूहले उपलब्ध गराइरहेको छ ।

अभिक ज्योति संलग्न ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले नेपालमा हिरो ब्रान्डको मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेको छ । प्रकाश कपुरीले काठमाडौं र विर्तामोडमा होन्डा मोटरसाइकलको शोरुम चलाउँदै आएका छन् भने विक्रम सिंघानिया टायर व्यवसायी हुन् । उनको समूहले हालै शेर्पा ब्रान्डको नेपाली टायर नेपालमै उत्पादन थालेको छ ।

गोपाल भट्टराई चितवनका युवा व्यवसायी हुन् । उनी टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको चितवन र नवलपरासीमा अवस्थित डिलर सफल मोटर्सका प्रबन्ध निर्देशक हुन् । त्यसैगरी उनले सर्भिस सेन्टर समेत सञ्चालन गरेका छन् । उनी नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

निलमणि पाठक (राम) त्रिशुल अटोमोबाइल्स ट्रेडर्स एन्ड टायर सेन्टरका सञ्चालक हुन् । उनले विभिन्न ब्रान्डका पार्ट्सको समेत कारोबार गर्छन् । बरदान बस्नेत अग्नि ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनी संलग्न ग्रुपले महिन्द्रा प्यासेन्जर कार तथा पिकअप, महिन्द्रा ट्याक्टर र पुराना गाडीहरुको समेत खरिदबिक्री र सट्टापट्टा गर्दै आइरहेको छ ।

पंकज अग्रवाल पार्ट्स व्यवसायी हुन् । उनले जोया ट्रेड कन्सर्नमार्फत विभिन्न ब्रान्डका पार्ट्सको कारोबार गर्छन् ।

निराकार श्रेष्ठ लक्ष्मी ग्रुपका निर्देशक हुन् । उनी संलग्न लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई र बीएमडब्लु गाडीको साथै एसएमएल इसुजुको समेत आयात गर्दै आइरहेको छ । यो ग्रुपले टोटल लुब्रिकेन्ट्स, टाटा ग्रिन ब्याट्री र टायर समेत आयात गर्छ ।

यमुना श्रेष्ठ नाडाको इतिहासमै पहिलो महिला सदस्य बनेकी छिन् । उनी साइमेक्स इंककी प्रबन्ध निर्देशक हुन् । साइमेक्स इंकले नेपालमा चिनियाँ ब्रान्डको बहुचर्चित इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी आयात गर्दै कारोबार गरिरहेको छ । कपिल शिवाकोटी लक्ष्मी ग्रुप अन्तर्गतकै एसएमएल इसुजु र टायर, ब्याट्री एबं लुब्रिकेन्ट डिभिजनका सेल्स एन्ड अपरेसन निर्देशक हुन् । उनी यो भन्दा पहिले विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहिसकेका प्रतिष्ठित युवा व्यवसायी मानिन्छन् ।

प्रदीपमान प्रधान हिट्को प्रालिका अध्यक्ष हुन् । नेपाली बजारमा ग्यारेज इक्विपमेन्ट व्यवसायीको रुपमा उनी बढी परिचित छन् । हिट्को प्रालिले एटिएस एल्गी ब्रान्डका ग्यारेज इक्विपमेन्टका साथै अन्य विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आएको छ ।

गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा संलग्न कम्पनीहरुले फोर्ड, प्युजो, सिट्रोन गाडी र हुन्डाई हेभी इक्विपमेन्टको आयात गरी कारोबार गर्दै आइरहे पनि उनी फोर्ड गाडीको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशकका रुपमा उनी बढी परिचित छन् ।

देश संघीयतामा गएसँगै नाडाले समेत आफ्नो संगठन प्रदेश स्तरमा विस्तार गरिसकेको छ । अहिले नाडाको सातवटै प्रदेशमा संगठन विस्तार भैसकेको छ । जसका कारण सदस्य संख्या समेत बढेर ३२ सय हाराहारी पुगेको छ ।-नेपालअटो डटकमबाट