सेयर बजार पुँजीपतिको अकुत नाफा कमाउने अतृप्त भोक हो : प्रचण्ड


काठमाडौं । छोटो समयमा अकुत सम्पत्ति कमाउन क्षेत्र सेयर बजार र घरजग्गामा लगानी बढेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा पेश गरेको रानीतिक प्रतिवेदनमा सेयर बजार भनेको पुँजीपतिले छोटो समयमा धेरै भन्दा धेरै नाफा कमाउने अतृप्त भोक रहेको उल्लेख गरेका छन् ।

पुँजीको लगानी उत्पादन क्षेत्रमा हुनुपर्ने तर यहाँ उत्पादनमूलक क्षेत्रबाट नाफा कम आउने र मिहिनेत धेरै गर्नुपर्ने भएकोले यस क्षेत्रमा लगानी गर्न रुची नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनमा भनिएको छ ‘उत्पादनको क्षेत्रमा लगानी गर्दा समय धेरै लामो लाग्ने, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा चाहिँ कम आउने कारणले नै पुँजीपतिहरूले अरुको सम्पत्ति छिट्टै हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेका हुन् ।’

यसबाट केही सीमित पुँजीपति वर्गले लाभ लिइरहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । पुँजीपति घरानाहरुले बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको बताइएको छ ।

‘मुठ्ठीभर पुँजीपति घरानाहरूको हातमा पुँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पुँजीमार्फत नवऔपनिवेशिक शोषण, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास भएको छ् ।’ प्रतिवेदनमा उल्लेख छ ।

उत्पादन क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा-माल=मुद्राको स्थान अब लगानी गरेर सिधै मुद्रै कमाउने प्रक्रियाले लिएको उनले उल्लेख गरेका छन् ।