दूधको मूल्यवृद्धि ६९/३१ अनुपातमा गर्न डेरी उद्योग संघको माग


काठमाडौं । सरकारले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धिको तयारीको डेरी उद्योग संघले स्वागत गरेको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्य वृृद्धि गर्दा यसअघि गरिँदै आएको ६९/३१ अनुपातको मापदण्ड अपनाउन माग गरेको छ ।

बागमती प्रदेश दुग्ध विकास बोर्डले दूधको मूल्यवृद्धि गर्न संघीय मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको निर्णयको स्वागत गर्दै किसानतर्फ ६९ प्रतिशत र उद्योगतर्फ ३१ प्रतिशतको अनुपातमा वृद्धि हुने मूल्य समायोजन गर्न माग गरेको हो ।

विगत तीन वर्षदेखि दूधको मूल्य नबढेको र यसै अवधिमा दुग्ध उत्पादन र प्रशोधनमा प्रयोग हुने कच्चा पदार्थहरु पशु आहार, इन्धन, विद्युत, डेरी केमिकल, स्पेयर पार्टस् प्याकेजिङ सामाग्री, कन्भरसन ज्याला, तलव आदिको पटक पटक मूल्य वृद्धिले उत्पादन लागत बढेकाे संघकाे भनाइ छ ।

”उत्पादन लागत ‘बढ्न गई किसान तथा उद्यमी मारमा पर्न गएकोले आत्मनिर्भरतर्फ उन्मुख दुग्ध क्षेत्रको उत्थान गर्न दुबैको हीतमा ६९ प्रतिशत उत्पादन ३१ प्रतिशत प्रशोधनमा बाँडफाड हुने गरी दूधको मूल्य परिमार्जन गर्न सरकार समक्ष जोडदार आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य समायोजनाका लागि यसअघि मूल्य वृद्धि गर्दा अपनाइएको मापदण्डमा हेरफेर गरेर मन्त्रालयलाई सिफारिस गर्दैछ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले नयाँ मूल्य कायम गरेसँगै निजी क्षेत्रका डेरीले पनि मूल्य समायोजन गर्ने गरेका छन् ।