सरकारको खातामा निष्क्रिय पैसा बढ्यो


काठमाडौं । सरकारले खर्च गर्न नसक्दा सरकारको खातामा निष्क्रिय रूपमा रहेको पैसाको अनुपात बढ्दै गएको छ ।

सरकारले खर्च गर्न नसकी राष्ट्र बैंकको खातामा पैसा थुपारेर राख्दा बजारमा तरलता संकट गहिरिएको छ । राष्ट्र बैंकका अनुसार २०७८ मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२ खर्ब ९१ अर्ब १९ करोड नगद मौज्दात छ 

यसमध्ये ४ अर्ब रुपैयाँ स्थानीय निकायको पैसा हो । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु.१ खर्ब ९४ अर्ब ७० करोड थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा गत वर्षको समान अवधिको तुलनामा सरकारको पुँजीगत खर्च २१ प्रतिशतले घटेको छ ।

सरकारले मंसिर मसान्तसम्ममा पुँजीगततर्फ खर्च रु.२८ अर्ब ४० करोड रुपैयाँमात्र खर्च गर्न सकेको छ ।

गत वर्ष सोही अवधिमा ३५ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको थियो । राष्ट्र बैंकका अनुसार सरकारको राजस्व आय ३६ प्रतिशतले बढ्दा खर्चको वृद्धिदर १७ प्रतिशतमात्रै हुँदा सरकारी खातामा सरकारको बचत बढेको हो ।