माघ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले बढाएनन् निक्षेपको व्याजदर


काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनाका लागि लागुहुने निक्षेपको व्याजदर बढाएका छैनन् ।

बैकहरूले विभिन्न खातामा भोलि (माघ १ गते शनिबार) देखि लागु हुने गरी सार्वजनिक गरेको नयाँ व्यवाजदरमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छैनन् ।

प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुले मुद्दति निक्षेपतर्फ ३ महिनाभन्दा बढी अवधिको लागि व्यक्तिगतमा अधिकतम १०.०५ प्रतिशतसम्म र संस्थागतमा ९.०५ प्रतिशतसम्मको ब्याजदरलाई नै निरन्तरता दिएका छन्।

यसैगरी विकास बैंकहरुले पनि मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा अधिकतम १०.३५ प्रतिशत र संस्थागतमा ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन् भने फाइनान्सहरुले मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा अधिकतम १०.६५ प्रतिशत र संस्थागतमा ९.६५ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

बैंकर्स संघको सहमति अनुसार बैंकहरूले यसअघि पौष महिनामा पनि मंसिर महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका थिए । बैंकहरूले अहिले पनि ब्याजदर यथावत राखेका हुन् ।

पछिल्लो समय कर्जाको ब्याजदरलाई न्युनतम विन्दुमै राख्न भन्दै राष्ट्र बैंकले निश्चित समयको लागि कर्जाको ब्याज बढाउन नपाइने भन्ने सर्कुलर जारी गरेको थियो ।

कर्जाको ब्याजदर बढाउन नपाइने अनि निक्षेपको मात्रै ब्याजदर बढाउँदा कस्ट अफ फन्ड बढ्न गई नाफा झन् संकुचित हुने हुँदा बरु निक्षेपको ब्याजदर घटाउने मनसायमा अधिकांश बैंक वित्तिय संस्थाहरु रहेको बुझिएको थियो।