यस्ताे थियाे राणाकालीन अर्थ–प्रशासन


टक्सार । 

नेपालमा कुमारीचोक अड्डा मल्लकालदेखि सञ्चालन हुँदै आएको राज्यको आर्थिक कारोबारसम्बन्धी मुख्य कार्यालय थियो । यो वसन्तपुरस्थित जीवित देवी कुमारीको बासस्थलमा राखिएको हुनाले त्यसको नाम नै कुमारी चोक अड्डा रहन गएको हो । यो अड्डाले मुख्यतया राज्यका खातापाताको विवरण राख्ने गथ्र्यो । विसं १९६० सम्म यो कार्यालय कुमारी चोकमै रह्यो र त्यसपछि डिल्लीबजारमा सारियो । डिल्लीबजारमा सारिए पनि यसको नाम कुमारीचोक अड्डा नै रहेको थियो ।

१९१७ सालमा श्री ३ जंगबहादुरले सर्वप्रथम कुमारीचोकलाई तीन फाँट पहाड, मधेश र नेपालमा विभाजन गरेका थिए भने १९६२ सालमा श्री ३ चन्द्रशम्शेरले यसलाई चार फाँटमा विभाजित गरे– तराई, पहाड, नेपाल र बक्यौता ।

१९६७ सालमा अडिटरको दरबन्दी सिर्जना भयो । १९८० साल पौष २६ गते कुमारीचोक ६ फाँटमा विभाजित भयो; पूर्व–पश्चिम पहाड, मधेश र नेपाल २/२ फाँटमा बाँडियो । हरेक फाँटमा हाकिम (नायब सुब्बा, खरदार), तहरीर (खरदार र मुखिया), नायब राइटर (मुखियाको सहायक) र नौसिन्दाको दरबन्दी हुन्थ्यो ।

नेपाल पहिलो फाँटले मुलुकी खाना र कौसी तोषा खानाको हिसाब, नेपाल दोस्रोले उपत्यकाको आम्दानी खर्च, पहाड पहिलोले पूर्व र पहाड दोस्रोले पश्चिम पहाड र मधेश पहिलोले पूर्व मधेश र दोस्रोले पश्चिम, मधेशको आम्दानी–खर्चको लेखापरीक्षण गर्दथे ।

हरेक तीन–तीन महिनामा रकमीले कुमारीचोकमा पेस गरेको स्रेस्ताको पहिले ठाडो जाँच (आजकल आन्तरिक लेखापरीक्षणको जस्तो) हुन्थ्यो । पन्द्र दिनभित्रमा रकमीले आफूलाई सोधिएको कुराको स्पष्टीकरण दिनुपर्दथ्यो । त्यसपछि पनि कायम रहेको बेरुजुउपर कुमारीचोकले कारवाही उठाउँदथ्यो।

लेखापरीक्षणको साथसाथै बेरुजुमा कारवाही गर्ने, दण्ड गर्ने, थुन्ने र जायजात गर्ने अधिकार कुमारीचोकलाई प्रदान भएको थियो । 

जंगबहादुर राणाले बेलायत यात्राबाट फर्केपछि सन् १८४८ मा राजस्व हिसाबकिताब हेर्ने अड्डाका रूपमा मोठ तहबिल स्थापना गराए भने नेपाली र कम्पनी रुपियाँबीच साटफेर व्यवस्थापन गर्नका लागि सर्राफ खाना स्थापना गरे। 

कुमारीचोक अड्डा हुँदाहुँदै जंगबहादुरले सोही वर्ष समान आर्थिक क्रियाकलाप हेर्ने गरी मुलुकी खाना स्थापना गरे । मुलुकी खानालाई कोष भण्डार अड्डा पनि भनिन्थ्यो । यसको प्रमुख खजाञ्ची हुन्थे, जो मुख्य गुरु पुरोहितलाई नियुक्त गरिन्थ्यो । यसरी नियुक्त गरिने व्यक्ति सम्पत्ति भएका र मानप्रतिष्ठा भएका व्यक्तिमध्येबाट नियुक्त गरिन्थ्यो । यो अड्डाको मुख्य काम सरकारी अड्डाहरूबाट आय र सुन संकलन गथ्र्यो । 

यो अड्डा वसन्तपुर दरबारभित्र श्री ३ महाराजकै मातहतमा थियो । यो अड्डाले नेपाल अधिराज्यभरका अड्डाहरूको असुली तहसिल, आम्दानी गरेको रकम दाखिला गर्न ल्याएको बही से्रस्तामा आम्दानी चढाइ, तहबिल मौज्दात भएका फाँट बराबर श्री ३ महाराजको जुनाफमा पठाउन पथ्र्यो । 

विसं १९९० साल वैशाख ७ गते जुद्धशमशेरले मुलुकी खानाका लागि जारी गरेको सनदमा कौषी तोषा खाना र मुलुकी खानाको जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसमा भनिएको थियो– कौसी खानाको जिम्मेवारीको काम मुलुकी खानाबाट जारी पैसाको वितरण गर्नु हो । दुवै अड्डाले नजिकको सम्बन्धमा काम गर्नुपर्छ । मुलुकी खानाले सनद, पुर्जी, आदेश जाँच्नु पर्छ ।

सनदअनुसार यस अड्डाका लागि तीन साँचोको व्यवस्था गरियो, ती तीन साँचो श्री ३ महाराज, मुख्तियार र जंगी लाठसँग हुन्थ्यो । यो अड्डाको प्रमुख  हजुरिया जर्नेल हुन्थे । यी तीनै पदमा रोलवाल राणाहरू नै रहन्थे । यसमा खाली प्रधानमन्त्रीको बाहुलीबाट मात्र फिकिने डी.एम. (डिपेन्स एण्ड मिलिटरी) भन्ने एक विशेष हिसाब पनि रहन्थ्यो । यसमा के–कति रकम छ, त्यो प्रधानमन्त्रीसिवाय अरू कसैलाई थाहा हुँदैनथ्यो । प्रधानमन्त्रीका अति विश्वासपात्र कर्मचारीहरू मात्र मुलुकीखानाको हाकिम सरदार बनाइन्थे । 

खजाञ्जीले कडा रूपमा श्री ३ हरूको निर्देशनमातहतमा काम गर्नुपथ्र्यो । “सरकारको कुनै हानिनोक्सानी भएमा तिमीले त्यसको पूर्ण चुक्ता र भुक्तानी दिनुपर्नेछ…” भनेर सनदमा भनिएको थियो । सो सनदमा मुलुकी खानाको शक्ति, कार्य र कर्मचारी संरचनाबारे पनि उल्लख थियो ।

सो सनदअनुसार मुलुकी खानामा निम्न कर्मचारी रहन्थेः–

– हाकिम खजाञ्ची

–तहरीर नायब सुब्बा

–कौसी तलबी जवान

–सहायक खर्दार

–तहबिल डिठ्ठा

–तहबिलदार

–बहिदार

–नौसिन्दा

–सर्राफी

–टहलुवा

१९९० को सनदअनुसार चल्ती रकम एक साँचो ढुकुटीमा र बेलाची रकम (कम खर्च हुने) तीन साँचो ढुकुटीमा राख्नु पथ्र्यो । तीन साँचो ढुकुटीमा नगद र जिन्सी सामान राखिन्थ्यो । जिल्ला कोषबाट मधेश–पहाडबाट राजस्वको तोडा (कम्पनी रकम हालेको छालाको थैली) मुलुकी खानामा आउँदथ्यो । मुलुकी खानाले त्यसको लगत कसेपछि रकम खजाञ्चीको जिम्मामा र अरू तीन साँचोमा जम्मा हुन्थ्यो ।

तीन साँचो खजाञ्ची (हाकिम), दोस्रो तहबिल डिठ्ठा र तेस्रो सहायक हाकिम तहरीरलाई दिइन्थ्यो । यदि पैसा हरायो वा चोरियो भने एक साँचो ढुकुटीको तहबिलले पूर्ण रूपमा तिर्नुपर्ने र तीन साँचोे हराएमा तीनै जनाबाट क्षतिपूर्ति तिराइने सनदमा उल्लेख थियो ।

 जिल्ला मालहरूमा पनि दस हजारभन्दा बढी रकम तीन साँचो (माल हाकिम, बडाहाकिम र अमिनी अदालतको हाकिम) लाग्दथ्यो । दश हजार घटी रकम दुई साँचो (हाकिम र तहरीर) लाग्दथ्यो । अड्डा जाँच नगदको बराबर छड्के जाँच गर्ने चलन थियो । दैनिक खर्च थोर बहुत रकम हाकिमको जिम्मा एक साँचो लाग्दथ्यो । यसलाई नगदी कोष भनिन्थ्यो । 

जिल्ला कोषबाट संकलित तोडा मुलुकी खानाले र कुमारी चोकबाट साक्षीको जिल्लाको नामसहित खाता लेख्ने व्यवस्था गरिएको थियो । बेलायत सरकारले दिने वार्षिक १० लाख कंं.रु. अनुदान दिल्ली भाकिलमार्फत् ल्याएर जम्मा गर्नुपथ्र्यो ।

कर्मचारीलाई तलब भुक्तानी गरेपछि बाँकी पैसालाई ‘हर्सन्द रकम’ भनिन्थ्यो र सबै सरकारी अड्डाले त्यो पैसा मुलुकी खानामा जम्मा गर्नुपथ्र्यो । सोही अड्डाकै मातहतमा सर्राफ खाना पनि रहने व्यवस्था गरिएको थियो । राणाकालीन मूल आर्थिक प्रशासन हेर्ने काम मुलुकी खानाले गर्दै आएको थियो । यद्यपि, जंगबहादुरपछि सत्ता सम्हालेका रहेका रोलवालाहरूले आर्थिक प्रशासनलाई पनि अलग–अलग संरचनामा लगेर फरक फरक अड्डा खडा गरे ।

रणोद्दीप सिंहले पहाड बन्दोबस्त र मधेश बन्दोबस्त अड्डा खडा गरि काठमाडौंबाहिरको अर्थ–प्रशासन हेर्ने अड्डाहरू स्थापना गरेका भए पनि श्री ३ चन् द्रशमशेरले आफ्ना मुख्तियारको तेजोबध गर्नलाई स्रेस्ता कौसल अड्डा गठन गरेका थिए । अघिअघि मुख्तियारले गरिआएका नेपाल, पहाड र मधेशतर्फका स्रेस्तासम्बन्धी सबै बन्दोबस्तका काम पछि यसलाई सुम्पियो । यो अड्डाले सोकै श्री ३ महाराजका जुनाफमा जाहेर गरी निकासा–पुकासा लिन्थ्यो । 

वीरशमशेरले सुरुमा राणाहरूले बनाउने दरबारहरूको व्यवस्थापन मर्मतसम्भार, हेरविचारका लागि खडा गरेको घरकाज अड्डालाई चन्द्रशमशेरले लेखा र राजस्वको हिसाब पनि हेर्ने अधिकारसहित बलियो बनाए । यो धअड्डाको प्रमुखका रूपमा हजुरिया जर्नेल रहन्थे, जसको मातहतमा मुख्य इन्जिनियर रहन्थे । चन्द्रशमशेरले मोहनशमशेरलाई यसको प्रमुख बनाएका थिए ।

यो अड्डाअन्तर्गत निम्न फाँटहरू रहेका थिए–

क) लगत तथा चेक फाँट (डिजाइन तथा निरीक्षण)

ख) नगदी फाँट (लेखा शाखा)

ग) माल गोदाम (स्टोर)

घ) काठ गोदाम

ङ) बनाउने अड्डा (निर्माण कार्यालय)

यसै अड्डाले १९५८ सालमा श्री ३ चन् द्रशमशेरको पालामा पचास लाख रूपैयाँको लागतमा १८ महिनामा १४०० कोठाको सिंहदरबार बनाएको थियो ।

उपत्यकाभित्रका अरू बनाउने काम गर्ने अड्डाको नाम थियो मोफसलको निर्माणसँग सम्बन्धित निर्माण काम पब्लिक वक्र्सबाट हुन्थ्यो । जंगबहादुरको समयमा थापाथली दरबारमा रहेका मुलुकी अड्डा, मुलुकी खाना, किताब खाना, कौषी तोषा खानालगायतका अड्डाहरू चन्द्रशमशेरले सिंहदरबारको निर्माणपछि त्यहीँ सार्न लगाए । 

यो अड्डाले मूलतः निर्माणसम्बन्धी कामहरू गर्ने–गराउने गथ्र्यो । सडक, नहर, दरबारलगायतका निर्माण कार्यमा जेलका बन्दी–कैदीहरूलाई जबर्जस्ती प्रयोग गरिन्थ्यो । १९९० सालको महाभूकम्पपछि १९९१ सालमा वीरगञ्जमा बनाउने अड्डा स्थापना गरिएको थियो, जसलाई समरजंग कम्पनीले सडक बनाउन सहयोग गरेको थियो ।

राणाकालमा खडा गरिएका अड्डाहरूमध्ये यो अड्डामा निकै ठूलो संख्यामा कर्मचारीहरू रहने व्यवस्था गरिएको थियो । मोहन शमशेरले १९६७ सालमा जारी गरेको घरकाज अड्डाको सनदअनुसार यो अड्डाअन्तर्गत निम्न कर्मचारी थिए–

क) प्राविधिक कर्मचारी– मुख्य इन्जिनियर, इन्जिनियर, ओभरसियर, नाइके (हेड मिस्त्री), कारिगर, ज्यामी, जागिरे, सिकर्मी, डकर्मी

ख) अप्राविधिक कर्मचारी– मुखिया हाकिम, बनाउने हाकिम, खर्दार, कारिन्दा, राइटर नौसिन्दा

घरकाज अड्डाले काठमाडौंभित्र ४० माइल सडकका साथै टेलिफोन एक्सचेन्ज, सदर चिडियाखाना, रेडियो घरलगायतका निर्माण गरेको थियो । नेवार राजाको पालादेखि चल्दै आएको छेमडोल अड्डा त्यस बखत घरकाज र पब्लिक वर्कस्, मधेश–पहाड बनाउने अड्डामा परिणत भएको थियो । यसका तीन फाँट थिए– लगत इष्टिमेट बनाउने फाँट, त्यसको चेक गर्ने फाँट र स्वीकृत लगत इष्टिमेटबमोजिम काम तामेल भए–नभएको जाँच्ने फाँट । 

यो अड्डाअन्तर्गत १९७५ सालमा म्युनिसिपल गोश्वारा खुलेको थियो । चन्द्रशमशेरले काठमाडौंको भोटाहिटी टोलमा नगरपालिकाको अभ्यासका यो गोश्वारा स्थापना गरेका थिए । म्युनिसिपल गोश्वाराको सवालमा उल्लेख भएअनुसार सो कार्यालयमा हाकिम, खर्दार, विचारी, नायब राइटर, नौसिन्दा, जाँचकी र इन्जिनियरको व्यवस्था थियो । 

१९८७ सालमा काठमाडौंका ९ स्थानमा पञ्चायतहरू स्थापनाका लागि पञ्चायत गोश्वारा स्थापना गरिएको थियो भने अन्य प्रमुख अड्डाहरूमा गोश्वारा तहबिल, मोठ तहबिल, हुलाक गोश्वारा, पानी गोश्वारा, बिजुली गोश्वारा, गोठ गोश्वारालगायत थिए । १९८१ र १९८८ का दुई खड्ग निशानहरूमा उल्लेख भएअनुसार त्यसबेला श्री ५ र श्री ३ का दुई वटा छुट्टाछुट्टै गोठहरू थिए । श्री ५ का पाँच गोठ र श्री ३ का १७ गोठका करिब एक हजार गाईवस्तुको हेरविचार गरी तिनको दूध, दही, घिउ श्री ५ र श्री ३ का दरबारहरूमा पु¥याउने काम यो गोश्वाराको थियो ।

१९७६ सालमा जनगणनाका लागि सेन्सस गोश्वारा गठन गरिएको थियो । १९९५ साल कात्तिक २१ गतेको श्री ३ जुद्धशमशेरको खड्ग निशानाको सनदबाट अर्को बृहत् जनगणनाका लागि सेन्सस गोश्वारालाई थप अधिकार प्रदान गरिएको थियो । 

अन्य अड्डाहरूमा सेनाअन्तर्गतको श्रमिक र कुल्लीहरूको व्यवस्थापन हेर्ने गरी चन्द्रशमशेरले पिपा गोश्वारा खडा गराएका थिए भने पद्मशमशेरले जडीबुटीसम्बन्धी व्यवस्थापन हेर्ने गरी वनस्पति गोश्वारा गठन गराएका थिए । यसैगरी, स्कुल गोश्वारा, नेपाल हात्तीसार गोश्वारा, नारायणहिटी गोश्वारा, अड्डा जाँच, तिर्जा अड्डा, चप्रासी अडा, टिकट अड्डा, बजार अड्डा, भन्सार अड्डा, छेमदेल–भूमदेल अड्डा, टक्साल अड्डा, तेजारथ अड्डा, घरेलु इलम अड्डा सहित ठूला २६ वटा र साना ८६ वटा अड्डा राणाकालमा अस्तित्वमा थिए । 

स्रोतः त्यस बखतको नेपाल– सरदार भीमबहादुर पाँडे, द एडमेनिस्ट्रेटिभ सिस्टम अफ नेपाल– एच.एम अग्रवाल (१९७६)

(टक्सार म्यागजिन, मंसिर र पुसमा २०७८ मा प्रकाशित)