अर्थ–अध्यात्म: नेपाली सामानको गुणवत्ताको महिमा पुराणमा


मत्स्यपुराणमा आफ्ना पितृको श्राद्ध गर्दा के कस्ता वस्तुहरू प्रयोग गरेमा उक्त श्राद्ध फलिभूत रहने भन्ने एउटा चर्चा छ, जसमा नेपालमा उत्पादित सामग्रीलाई अत्यन्त उत्तम र फलदायी भएको भन्दै प्रयोग गर्न भनिएको छ ।

दिवाकर पन्त

राजनीतिक दलका नेताहरूले आफ्ना भाषणमा देशको राजनीतिक उपलब्धिप्रति गौरव गर्न सर्वसाधारणलाई हौस्याइ रहे पनि सर्वसाधारण नेपाली भने आफ्नो जीवनमा आउन नसकेको परिवर्तनप्रति उदासीन देखिन्छन् । जबसम्म ‘महान’ भनिएका परिवर्तन जनताको जीवन पद्धतिमा संगति राख्ने आर्थिक परिवर्तनको सारथि बन्दैनन्, त्यो निरर्थक निर्जीव शब्दमा मात्र बन्छ ।

महान, युगान्तकारी, क्रान्तिकारी, ऐतिहासिक आदि आलङ्कारिक शब्दावलीहरूको फूलबुट्टासहित शृङ्गारित गर्ने प्रयास गरिएको भए पनि नेपाली राजनीतिक परिवर्तनले नेपाली सर्वसाधारणको जीवन पद्धतिमा कुनै पनि परिवर्तन ल्याउन नसकेको सिधा र सपाट प्रतिबम्ब छ । यसो भनिरहँदा राजनीतिक दलका कार्यकर्ताले सजिलै आरोप लगाइ दिन सक्छन् कि यो मान्छे ‘प्रतिगामी’ हो । यस आलेखमा नेपालीको विगतको उद्यमशील विरासत खोतल्ने प्रयास गरिएको छ ।  

‘न विगत न भविष्य’

अघिल्लो पुस्ता र पछिल्लो पुस्ता जिम्मेवारीपूर्वक जोडिदिने जिम्मेवारी सदैव वर्तमान पुस्ताको हुन्छ । यसले विगतको विरासत र राम्रो कुरा नयाँ पुस्तालाई हस्तान्तरण गरिदिने गर्दछ भने आफैंले भोगेको चुनौती अनुभवका आधारमा नयाँ पुस्तालाई दिएर मार्गदर्शन प्रदान गर्दछ । 

विगतको विरासत, गौरव, संस्कृति, मूल्य–मान्यतालाई जोगाएर नयाँ पुस्तासम्मको काँधमा पु-याइदिने जिम्मेवारी पनि वर्तमान पुस्ताको नै हो । साथै, आर्थिक विकासको गति प्रदान गरेर आफ्नो पुस्ताको पनि जीवन पद्धतिमा व्यापक परिवर्तन ल्याउने र नयाँ पुस्ताको जीवनलाई समुन्नत बनाउन विहङ्गम योगदान पु-याउने दायित्व पनि वर्तमान पुस्तामाथि नै हुन्छ। 

यति ठूलो जिम्मवारीबाट नेपालको विशेषगरी राजनीतिक वर्तमान पुस्ता किन विचलित भयो ? यो गम्भीर प्रश्नको गम्भीर जवाफ त के सामान्य जवाफ पनि कोही कसैसँग छैन् । किन छैन भने वर्तमान राजनीतिक पुस्तालाई न विगतप्रतिको गौरवबारे गौरव छ न त भविष्यप्रतिको जिम्मेवारीबोध नै छ। 

के हामी विगतमा केही थिएनौँ ? हामी नेपाली भनेको दुई छाक टार्नका लागि विदेशीहरूको सेवा गर्नुपर्ने अहिलको जस्तो बाध्यात्मक अवस्थामा विगतमा पनि थियौँ ? वा, विश्व सभ्यताको सर्वाधिक पुरानो सभ्यता वैदिक सनातन संस्कृतिको आधारस्तम्भ खडा गर्न योगदान गर्न सक्ने अवस्थामा थियौँ? 

आज देशको अर्थतन्त्र नेपाली युवाले विदेशमा रगत र पसिना बेचेर कमाएको विप्रेषण (रेमिट्यान्स) को बलमा जसोतसो चलिरहेको छ । देशमा संकलित कर र सरकारको कुल आयबाट देशको दैनिक खर्च अर्थात् सामान्य प्रशासनिक खर्चसमेत धान्न नसक्ने अवस्था आएको छ । 

चार दशक अघिसम्म विश्वका अन्य देशमा आफ्ना सामान निर्यात गरेर सम्मानजनक आर्थिक हैसियतमा रहेको देश यही अवधिमा किन धराशायी अवस्थामा आइपुग्यो? 

त्यसबेला उस्तै उस्तै हैसियतमा रहेका दक्षिण कोरिया, मलेशिया जस्ता देश आज विश्वमा नयाँ आर्थिक विकासको मोडल दिनसक्ने हैसियतमा पुग्दा हामी भने किन दिन–प्रतिदिन निरीह बन्दै गएका छौँ ? वैदिक सनातनी अभ्यासमा नेपालको आर्थिक अवस्थाका बारेमा केही चर्चा छन् ? वा छैनन् ? 

नेपाली सामानको गुणवत्ताको महिमा पुराणमा

वैदिक पौराणिक धार्मिक–आध्यात्मिक साहित्यमा नेपालको अर्थतन्त्र, उत्पादन र विरासतका बारेमा के कस्ता चर्चा होलान् ? आजको नयाँ पुस्ताले यसबारेमा थाहा पाउनु नितान्त जरुरी छ । किनकी, वर्तमान पुस्ता देशको अर्थतन्त्रसहित धार्मिक–आध्यात्मिक, सांस्कृतिक विरासत ध्वस्त बनाउन उद्धत देखिए पनि भविष्यमा आउने पुस्ताले यसको यथार्थता बुझेर पुनः लयमा फर्काउन गम्भीर प्रयास चाल्ने छ भन्ने अपेक्षा राख्न सकिन्छ । 

मत्स्यपुराणमा आफ्ना पितृको श्राद्ध गर्दा के कस्ता वस्तुहरू प्रयोग गरेमा उक्त श्राद्ध फलिभूत रहने भन्ने एउटा चर्चा छ, जसमा नेपालमा उत्पादित सामग्रीलाई अत्यन्त उत्तम र फलदायी भएको भन्दै प्रयोग गर्न भनिएको छ । भनिएको छ–

मध्याह्नः खड्गपात्रं च तथा नेपालकम्बलः ।। 

रुप्यं दर्भास्तिला गावो दौहित्रश्चाष्टमः स्मृतः ।।

पापं कुत्सितमित्याहुस्तस्य संतापकारिणः ।

अष्टावेते यतस्तस्मात् कुतपा इति विश्रुताः ।।

(मत्स्यपुराण २२ । ८६–८७)

अर्थात्, श्राद्ध गर्नका लागि उत्तम अवस्था तथा वस्तुहरूमा उत्तम समय मध्याह्नकाल, खड्गपात्र (गैँडाको खागबाट बनेको खगौतो), नेपाल कम्बल, चाँदी, कुश, तिल, गाई, र कन्या पुत्र (भाञ्जा) यी आठ चिज अत्यन्त फलदायी रहन्छन्। 

श्राद्धका लागि यी चिजहरू असाध्यै दुर्लभ प्रयोजनीय मानिन्छ भनि उल्लेख गरिएको छ । ‘नेपालकम्बलः’ यस शब्दले नेपालमा निर्मित कम्बलको महिमा पुराणमा नै उल्लेख हुनुले पौराणिक कालमा समेत नेपाली उत्पादनको छवि कति गौरवपूर्ण रहेको हामी सहज अनुमान गर्न सक्दछौं । 

हाल चीनमा निर्मित गलैँचा घरघरका बैठक कोठाका भुइँमा ओछ्याउने गरिरहिएको अवस्थामा नेपाली कम्बललाई दुर्लभ वस्तुका रूपमा महिमा गर्दै पुराणमा उल्लेख गरिएको विषय सम्झनु पर्ने यथार्थ बाध्यता नेपाली समाजको दुर्भाग्यपूर्ण अवस्था हो । 

त्यसैगरी श्राद्धकल्पलतामा के कस्तो आसन श्राद्धका लागि उत्तम आसन हुन् ? भन्ने विषयमा यसरी उल्लेख छ–

क्षौमं दुकूलं नेपालमाविकं दारुजं तथा ।

तार्णं पार्णं वृसी चैव विष्टरादि प्रविन्यसेत् ।।

शमी च काश्मरी शल्लः कदम्बो वरुणस्तथा ।

पञ्चासनानि शस्तानि श्राद्धे देवार्चने तथा ।।

(श्राद्धकल्पलता)

रेशमी, नेपाली कम्बल, उन, काष्ठ, तृण, पर्ण, कुश आदि आसन श्राद्धका लागि श्रेष्ठ आसन हुन् । यसरी नेपाली उत्पादन कम्बलको महिमा गाइएको छ । तर आज यथार्थ के छ ? हामीले किन यसको विरासतलाई जोगाउन सकेनौँ ? यसको समीक्षा आजका दिनमा अत्यन्त जरुरी छ । 

यदि नेपाली अर्थतन्त्रको विकास चाहने हो भने विदेशीले सुझाएका बुँदाहरूको रटान भन्दा पुराण तथा इतिहासको विरासतलाई खोतलेर त्यसलाई पुनर्जीवित गर्ने दिशातर्फ जान सके मात्र सम्भव हुने देखिन्छ ।

हिमवत्खण्डमा नेपालको महिमा नै महिमा

१८ महापुराणमध्ये स्कन्द महापुराणअन्तर्गत हिमवत्खण्डमा नेपाल महात्म्यका रूपमा नेपालका विविध पक्षका बारेमा विस्तृत चर्चा गहिराइमा रहेको छ, जसमा नेपालको निर्मलता, धार्मिक–आध्यात्मिक ऊर्जा, हिमाली भेगको पवित्रता, नदीनालाहरूको महिमा, पर्यटन, तीर्थस्थलहरूको वर्णन, नेपालीको विद्वता, अर्थतन्त्र लगायतका विषयलाई अन्यन्त गहिराइका साथ उल्लेख गरिएको छ । यसमा राष्ट्रदेव भगवान पशुपतिनाको महिमा, गण्डकी महात्म्य, बाह्र ज्योतिर्लिङ्ग, देशका हिमाली पर्यटकीय स्थलहरूसहित नेपालका बारेमा पौराणिक युगमा रहेको महत्वको चर्चा समावेश छ । 

यो पढ्दा जो कोही नेपालीको शिर गौरवले उचो हुनु स्वाभाविक हुन आउँछ । 

पुरुषार्थको उच्चतम परिकल्पनाः अन्तरिक्षमा मरण हुन सक्नेबारे परिकल्पना

हालै विश्वका पाश्चात्य देशका केही नागरिक र एक जापानी नागरिक पर्यटकका रूपमा अन्तरिक्षमा जाने समाचारले चर्चा पाएको छ । हो, यो आधुनिक विज्ञानको एक चमत्कारपूर्ण प्रगति हो । यसको थालनी वा परिकल्पना कहाँ कसरी भएको हुनु पर्दछ ? 

कुनै पनि कार्यको थालनी परिकल्पना वा सोचबाट प्रादुर्भाव हुन्छ । सोचबिना वा कल्पनाबिना कुनै पनि कार्य न थाली हुन सक्दछ न त परिणाम हात पर्न सक्दछ । हाम्रो वैदिक सनातन पद्धतिका संस्थापक ऋषिमुनि, विद्वान वैज्ञानिकहरूले अन्तरिक्षका बारेमा खोज गरेको यथेष्ट व्यवहारिक प्रमाण हामीसँग उपलब्ध छ । त्यसको बलियो अकाट्य प्रमाण वैदिक ज्योतिष हो । वैदिक ज्योतिष खगोलीय अध्ययन हो । 

वैदिक सनातन संस्कृति अन्तर्गतको अन्त्य कर्म संस्कारमा अन्तरिक्षमा मरण भएमा के कसरी दाहसंस्कार गर्ने भन्ने उल्लेख गरिएको छ । गृह्यकारिकामा यसबारे यसरी उल्लेख छ–

अन्तरिक्षमृता ये च वह्रावप्सु प्रमादतः ।

उदक्या सूतिका नारी चरेच्चान्द्रायणत्रयम् ।।

(गृह्यकारिका)

यसमा भनिएको छ– यदि कोही कसैको अन्तरिक्षमा मरण भएमा गरिने अन्तकार्यमा चान्द्रायण गरी गर्नुपर्दछ । अन्तरिक्षमा मरण कहिले हुन सक्छ ? जब मानिस अन्तरिक्षमा पुग्छ वा निरन्तर रूपमा अन्तरिक्षको विचरणमा मानिस पुग्दछ । 

यसबाट प्रष्ट हुन्छ कि वैदिक सनातन संस्कृति यो हदसम्म उद्यमशील पुरुषार्थको दस्तावेज र व्यावहारिक सूत्र हो जसले अन्तरिक्षमा समेत पुगेर यसमाथि खोज अनुसन्धान व्यावहारिक गरिनेबारे बोलेको छ । यस्तो सन्दर्भ विश्वका पुराना भनिएका कुनै पनि धार्मिक दस्तावेजहरूमा उल्लेख नै छैन । तसर्थ हाम्रो वैदिक सनातन संस्कृति उद्यमशील पुरुषार्थको उच्चतम अभ्यास हो भन्न सक्दछौँ र यसको सम्बन्ध नेपालसँग जोडिनु आफैमा नेपालीका लागि गौरव गर्न लायक अकाट्य सन्दर्भ हो ।

उद्यमशील राज्य व्यवस्था र कर प्रणालीको अवधारणा प्रादुर्भाव

हाल विश्वमा विद्यमान अर्थशास्त्र, कर प्रणाली, धनी–गरिब बीचको समन्वयात्मक विकासको अवधकारणा, राज्य प्रणालीको अवधारणा प्रादुर्भाव वैदिक सनातन सभ्यताबाट भएको हो । सायद अहिलेको अधिकांश नेपाली अर्थशास्त्री यसबारेमा अनविज्ञ नै होलान् । 

किनकी ‘अर्थशास्त्री वा अर्थविद्’ बन्नका लागि पाश्चात्य अर्थशास्त्रीका दुई चार भनाइ अर्थात कोटेसन नघोकि नेपाली विद्वानहरूले प्रमाणिकता पाउन सक्दैनन् । यो लद्युताभाषबाट ग्रसित तथाकथित विद्वान वर्गले आफ्ना विरासततर्फ फर्केर हेर्ने र त्यसका बारेमा चर्चा गर्ने अपेक्षा हुन सक्दैन् । 

हाल आधुनिक समयमा पाश्चात्यहरूले अनुसन्धान गरी पता लगाएको भनिएकामध्ये अर्थतन्त्रका धेरै सूत्र विश्वको पहिलो अर्थशास्त्री कौटिल्यले विश्व सभ्यतालाई दिनु भएको छ । उहाँले राज्य व्यवस्था, राज्य सञ्चालन, राजनीति, कर प्रणाली, कृषि व्यवस्था, उद्योग कलकारखाना, खानी सञ्चालन, सामाजिक उत्तरदायित्व लगायतका अर्थतन्त्रका तमाम विषयमा अकाट्य ज्ञान दिनु भएको छ । 

कौटलीय अर्थशास्त्र, मनुस्मृति, याज्ञवल्क्यस्मृति लगायतका विभिन्न दस्तावेजहरूमा अर्थतन्त्रका विविध पाटो अत्यन्त गहिराइका साथ उल्लेख गरिएका छन् । यी दस्तावेजहरू अध्ययन गर्दा पाश्चात्य विद्वानहरूले यिनै दस्तावेजहरूलाई अनुवाद गरेर आफ्नो भाषा र लवजमा अभिव्यक्त मात्र गरेका हुन् भन्ने आशंका बढ्दो छ । 

प्रत्यक्ष रुपमा कौटिल्य पूर्वीय दर्शनका प्रखर विद्वान भएका कारण उहाँको यस योगदान हरेक नेपालीका लागि गौरव गर्नुपर्ने विषय भएको र उद्यमशीलताका लागि प्रेरणाका स्रोत हो ।

नेपाली लोकबोलीको उद्यमशील मर्म

नेपाली समाजमा लोक बोलीमा रूपमा पाँच दशक अघिसम्म प्रचलित एक लोक बोली समाजमा अन्यन्त स्थापित रहेको पाइन्छ । ‘उत्तम कृषि, मध्यम व्यापार, निम्न जागिर÷सेवा’ यो लोक उक्तिले रहेक जनजनलाई उद्यमशील बनि रोजगारी सिर्जना गर्न अभिप्रेरित गरेको देखिन्छ । 

यसमा उल्लेख उत्तम कृषिले कृषिजन्य उपजमा आधारित प्राकृतिक प्रकृतिको उद्यम स्थापित गर्न अभिप्रेरित गरेको देखिन्छ । आज संसारका नव धनाढ्य खर्बपतिमध्ये केहीले कृषिजन्य दैनिक उपभोग्य वस्तुको व्यापारबाट मनग्य आम्दानी गरेको स्पष्ट देखिन्छ । तसर्थ कृषिमा आधारित रही गरिने अन्य विभिन्न उत्पादनमुखी उद्यमशील कार्यलाई सर्वाधिक उत्तम कार्य भएको सन्देश यसले प्रदान गरेको छ । 

यसले कुनै पनि वस्तुको कारोबार मात्रलाई पहिला जोड नदिइ त्यसको उत्पादन र रोजगारी सृजनालाई सर्वप्रथम सर्वाधिक जोड दिएको देखिन्छ । अर्थात ट्रेडिङभन्दा अघि उत्पादन अर्थात प्रडक्सन रहेको यथार्थ सत्य यसले बोली दिएको छ । आजभोलि यसलाई जीडीपीमा मापन गरी देशको अर्थतन्त्रको हैसियत मूल्यांकन गर्ने गरेको हामी पाउँदछौँ । 

त्यसैगरी व्यापार अर्थात ट्रेडिङलाई मध्यम प्रकृतिको कार्य मानिएको छ । जागिर अर्थात् अरुमा निर्भर मात्र पर्ने कार्यलाई सकभर धेरै जोड दिन नखोजेको देखिन्छ । यस भनाइको मर्म बुझ्दा ‘जागिर गर्नै हुँदैन्’ भन्ने भन्दा पनि ‘सकभर उद्यमशील बनि अरुलाई रोजगारी दिने बन’ भन्न खोजको देखिन्छ ।

नेपालका बारेमा पौराणिक दस्तावेजदेखि वैदिक सनातनी दस्तावेजहरूमा उल्लेख भएका विषयमा अझ थप खोज अनुसन्धान आवश्यक छ । 

(लेखक पन्त, युवा ज्योतिषी, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा हस्तरेखाविद् हुन् ।)

-टक्सार म्यागजिन, पुस २०७८ मा प्रकाशित ।