क्रिप्टोकरेन्सी कारोबार र नेटवर्क मार्केटिङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकको आग्रह


काठमाडौं । स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुलाई क्रिप्टोकरेन्सी कारोबार र नेटवर्क मार्केटिङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परि लगानी डुब्ने जोखिम हुने र कानुनी झन्झन्ट आउने भएकाले क्रिप्टोकरेन्सीको कारोबार नगर्न भनेको हो ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा क्रिप्टोकरेन्सी कारोबारले नकरात्मक असर पर्ने बैंकले जनाएको छ । क्रिप्टोकरेन्सी कारोबारले सम्पति शुद्धीकरण र आतंककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिमको चुनौती हुने राष्ट्र बैंकले औँल्याएको छ ।

अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक समाजिक व्यवस्थामा नकारात्मक असरपर्ने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिमा क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित हुने भएकाले बैंकको नियन्त्रण बाहिर हुने भएकाले मुद्रा प्रदायमा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्छ ।

आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिर्पोट (जीएफएसआर) मा क्रिप्टोकरेन्सीलाई “विश्वव्यापी वित्तीय स्थायित्वको तीन प्रमुख चुनौती मध्येको एक” भनेर उल्लेख गरेको थियो ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ ले नेटवर्क मार्केटिङ व्यवसायलाई बन्देज गरेको छ । सो ऐनको उल्लङ्घन गरेमा सोही ऐनबमोजिम दण्डित गरिने व्यवस्था छ ।