युराेप-अमेरिकाकाे अवसर छाडेर लकडाउनमै पर्यटन उद्यम सपार्न हाेमिएका गणेशबहादुर


हामीले पर्यटनलाई विदेशी पर्यटकसँग मात्र तुलना गरेर हे-यौं । तर कोरोनापछि आन्तरिक पर्यटकले नेपालको पर्यटन क्षेत्र धानिदिए । पर्यटन व्यवसायीले पनि अब स्वदेशी पर्यटकलाई प्राथमिकतामा राखेका छन् । पर्यटनमा नयाँ ढोका खुलेको छ । हिजो पोखरामा विदेशीहरूको अनुहार देखिनै पर्छ भन्ने मानसिकतालाई कोरोना पछिको अवस्थाले फेरिदिएको छ ।

-गणेश बहादुर थापा, पर्यटन व्यवसायी

युवामा जोश जाँगर हुँदा महत्वकांक्षा बढी हुन्छ । अमेरिका, युरोप भौतारिएँ । दुई दर्जन जति देश घुमियो । सुनौलो सपना बोकी जाने नेपाली युवा जस्तै पढाइ र कमाइ दुवै पाउन विदेशियो । तर कतै पनि पनि मन बस्न सकेन । आफनै देशमा केही गरौं भन्ने निष्कर्ष निकाली पर्यटन ‘हब’ पोखरामा एक दशकदेखि पर्यटन व्यवसाय अगाडि बढाएको छु । सन् २००९ मा काठमाडौंको ठमेलबाट ट्राभल एजेन्सी सुरु गर्दै पोखरामा केन्द्रित भइ होटेल व्यवसायमा लगानी गरी अगाडि बढिरहेको छु ।

पोखरा तालबाराही चोकको होटल स्वर्णा मेरो व्यसायिक थलो हो । यसै वरपर पर्यटनसँग सम्बन्धित अन्य सेवाहरू पनि चलाइरहको छु । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएकाले विदेशी पर्यटक भित्र्याइ मनग्य आम्दानी गर्ने विचारबाट अगाडि बढेको हुँ । जनवरी, फेबु्रअरी, मार्चमा भारतीय पर्यटक आउने मुख्य सिजनमा मैले व्यवसाय सुरु गरेको थिएँ । फेब्रुअरीपछि चाइनिजहरू आउने भएकाले पोखरा पर्यटन व्यवसायको अब्बल ठाउँ नै हो । होटलबाट सुरु गरी रेष्टुरेन्ट, साना रेष्टुरेन्टहरू पनि विस्तार गरेँ । 

पर्यटकलाई सुविधा दिन ट्राभल र मनी चेन्जरसम्म खोलें । तर भुकम्प, नाकाबन्दी हुँदै अहिले कोरोना महामारीसमेतले चुनौती थपिदिएको छ । निरन्तर लागेको छु । आत्म सन्तुष्टी नै मेरो कमाइ हो । कुनै पनि काम निरन्तर गरेपछि नतिजा पनि आफ्नो अनुकूल आउँछ भन्नेमा विश्वस्त छु । आइपरेका चुनौती आगामी दिनका लागि सिकाइको हुन्छ । पर्यटन व्यवसायीबाट सिकेर उद्यमशीलताको मार्गमा अगाडि बढिरहेको छु । 

पर्यटनले भोगेको बज्रपात र सम्हालिएका व्यवसायी

काम गर्दै जाँदा चुनौतीलाई सफलताको एउटा हिस्साका रूपमा लिएर हिँडदा सफलता हासिल गर्न सकिने मेरो निजी अनुभव छ । पर्यटन क्षेत्रमा ठूलै लगानी गरी योगदान गर्ने सोँच हो मेरो । तर मैले लगानी गरेलगत्तै भुँइचालो सामना गर्नुपर्यो । भुइँचालो र नाकाबन्दी म मात्रै होइन पोखरा र अन्य क्षेत्रका व्यवसायीले पनि सामना गर्नै पर्ने भो । भारतीय र चिनियाँ पर्यटकको पोखरा आउन संख्या ह्वातै ह्वात्तै घट्यो । खाद्यान्नदेखि पेट्रोलियम पदार्थसमेतको अभावले दैनिकी नै गाह्रो भयो । पर्यटनबाट कमाइ त टाढियो । १८ घण्टासम्मको लोडसेडिङ , बैंकिङ तरलताको अभावजस्ता समस्याले खर्च धेरै र आम्दनी कम हुने चुनौती पर्यटन व्यवसायमा आयो ।

भुकम्प र नाकाबन्दीपछि खर्च घटाउने, लागत घटाउने, व्यवसाय बचाउने रणनीति बनाउने तर्फ हामी केन्द्रित भयौं । बैंकहरूसँग डिल गर्ने, पाहुनाहरूलाई ट्याकल गर्ने र व्यवसायलाई जोगाउने सिकाइ हामीले संकटमा सिक्यौं । संकटमा छँदा मेरा साथीहरू व्यापारमा थिए । त्यो बेला जग्गा व्यापार चरममा थियो । चीनबाट सामान ल्याएर बेच्नु पनि निकै कमाइ गर्नेमा काममा पर्छ । रियलस्टेटमा लगानी गर्दा पनि मालामाल हुने अवस्था थियो । तर मनले त्यता लगानी गर्न मानेन । उद्यमशीलता विकास गर्नुपर्छ भन्ने तर्फ लागे । घाटा व्यहोर्ने थाहा पाएर पनि मुलुकलाई नै फाइदा हुने पर्यटन व्यवसायमा लाग्ने निर्णयले सुन्तुष्ट छु । 

मैले जागिरको लागि भन्दा पनि आत्मसन्तुष्टीका लागि गरेको हुँ । घाटामा किन गरेको भनी आफन्तहरूको गाली खाइ यसमा लागेको हुँ । तर त्यसको लाभ अहिले मैले लिइराखेको छु । सामाजिकरूपमा पनि आफ्नो पहिचान बनाउन खोजेको छु । बैंक तथा वित्तीय संस्था फाइनान्सियल ट्रस्ट बनाएको छु । मैले यसको ब्राण्डिङ गर्न पाएको छु । फाइनान्सियल कन्डिसन हेर्ने हो भने अहिलेसम्म आइपुग्दा फेभर मै छैन । कोरोनाले पनि पहिलो आक्रमण पर्यटन क्षेत्रलाई नै गर्यो । एक पटक त सोँचे सबै व्यवसाय एउटै क्षेत्र (पर्यटन) मा भर पर्दा अलिक बढी समस्या झेलियो । यद्यपि कोरोनाले पनि पर्यटनमा नयाँ बाटो खोलिदियो । 

आन्तरिक पर्यटनले थपेको ऊर्जा 

हामीले पर्यटनलाई विदेशी पर्यटकसँग मात्र तुलना गरेर हे-यौं । तर कोरोनापछि आन्तरिक पर्यटकले नेपालको पर्यटन क्षेत्र धानिदिए । अब यो बाटो खुलिसक्यो, नेपालीको पनि घुम्ने बानी परिसकेको छ । पर्यटन व्यवसायीले पनि अब स्वदेशी पर्यटकलाई प्राथमिकतामा राखेका छन् । पर्यटनमा नयाँ ढोका खुलेको छ । हिजो पोखरामा विदेशीहरूको अनुहार देखिनै पर्छ भन्ने मानसिकतालाई कोरोना पछिको अवस्थाले फेरिदिएको छ । 

नेपाली पर्यटक निकै बढेका छन् पोखरामा । मान्छेको संस्कृतिनै परिवर्तन भयो । अब घुम्नै पर्छ भन्ने परम्परा बसेको छ । अब १ वा २ महिनामा एक पटक घुम्न निस्कुन भएन भने आफूलाई नरामाइलो मान्नुपर्ने अवस्था छ । जनताले घर छोड्ने बित्तिकै पर्यटनसँग जोडियो । मात्र के भयो भने हिजो विदेशीसँग जोडिएको थियो भने आज आन्तरिक पर्यटनसँग जोडिएको छ । आन्तरिक पर्यटनमा पनि हामी डिपेन्डेन्ट हुन सक्यौं भनेर हामीले अहिले प्रमाणित गर्यौ । 

कोरोनाको अवस्थामा विदेशी पर्यटक आएनन् भनेर निराश थियौं । तर जुन तरिकाले दशैं, नयाँ वर्षमा जुन टे«ण्डहरु विकास भएर गएको छ । यसबाट निकै उत्साहित छौं । रेष्टुरेन्टमा खाली ठाउँ नै थिएन । होटलहरूको त्यस्तै अवस्था थियो । मूल्यमा केही अन्तर होला तर बिस्तारै मिल्दै जान्छ । हिजो हामीले ५ हजारमा बेच्ने कोठा २५ सय ३ हजारमा बेच्यौं होला । तर म अब २ हजारलाई ३ हजार बनाउन सक्छु नि त । तर मेरो हिजो खाली नै भएको चिज खाली त हुन्थ्यो । कम्तीमा भरिन थाल्यो । चहल पहल बढ्दा व्यापार पनि बढ्छ । 

एक दिनमा मात्र पोखरामा करिब २० हजार विद्यार्थी घुमेको तथ्यांक छ । यसरी घुम्ने अन्य क्षेत्रबाट पनि उत्तिकै रहन्छन् । सबैलाई सन्तुष्ट पार्न सक्यौं भने हाम्रो मूल्यमा पनि बिस्तारै रिकभर हुन्छ । सामाजिक संघसंस्थाहरुको रोजाइ पनि पोखारा बन्छ । हिजो २५ ओटा सहकारीमा आज २५ सय भएका छन् । बैंक, वित्तीय संस्था, बिमा, स्कुल, कलेज, उद्योग, व्यवसाय सबैतिरका कर्मचारी घुम्ने र सेमिनार गर्ने थलो पोखरा बनेको छ । यसले पोखराको पर्यटन विकासलाई बल पुगेको छ ।

स्वेदेशमै रोजगार, समृद्धिका लागि पर्यटन

संकटबाट गुज्रे पनि पर्यटन क्षेत्र बिस्तारै आफ्नो लयमा फर्कंदैछ र यसले आफनो योगदानलाई निरन्तरता दिइरहेको छ । सरकार र सरोकारवालाले गम्भीर भइ सोच्ने होे भने स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न र मुलुकलाई समृद्ध बनाउन गाह्रो छैन । एउटा विदेशी पर्यटक नेपालमा एक हप्ता बस्दा कम्तीमा ३० हजार रुपैया बराबर रेमिट्यान्स भित्रन्छ । यो आम्दानी भनेको खाडीमा जाने युवाको एक महिनाको कमाइ हो । दुःख गरेर, परिवारसँग टाढा भएर विदेशिएका युवाहरूको पसिनालाई रेमिट्यान्सको रुपमा भित्र्याएर सरकारले मुलुकको अर्थतन्त्र व्यवस्थापन गरेको छ । तर स्वदेशमै सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासमा भने खास ध्यान पुगेको देखिँदैन । 

पर्यटन क्षेत्र सरकारको ढुकुटी बढाउन सहयोग गर्ने क्षेत्र भएपनि सरकारको पहलकदमी पुगेको छैन । विदेशबाट सामान आयात गरी नाफा खाने सरकारले प्राथमिकतामा परेको पाइन्छ । हामी व्यवसायीले त आफ्नो ठाउँमा गरेकै छौ तर सरकारले पनि सोँच बदल्नु पर्यो । पर्यटकलाई आवश्यक सुविधा हामी दिन्छौं तर कम्पनीमा विदेशमा नेपालको पर्यटन प्रवद्र्धनको लागि सरकारले काम गर्नुपर्यो । अहिले आउने विदेशी पर्यटक सरकारले बोलाएर आएका हैनन्, नेपालको पर्यटन व्यवसायीको पहलले आएका हुन् । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने विदेशी पर्यटक भित्र्याउन विशेष पहल जरुरी  । 

वित्तीय क्षेत्रले नबुझेको पर्यटनको मर्म

सरकारले मात्र हैन नेपालको बैंक तथा वित्तीय क्षेत्रले पनि पर्यटन क्षेत्रको महत्व र मर्मलाई बुझेका छैनन् । सायद बुझ्ने कोसिस नै गर्दैनन् । बैंकले पर्यटन क्षेत्रमा काम गर्न ऋण दिँदा गर्ने व्यवहार सच्याउन जरुरी छ । ऋण दिनु भनेको यो क्षेत्रमा बैंक आफैले पनि लगानी गर्नु हो । तर अहिलेसम्म आफ्नो लगानीको सही सदुपयोग भइरहेको छ की छैन भन्ने विषयमा कुनै पनि बैंक तथा वित्तीय संस्था सजग नभइ साहु महाजनले लगानी लगाएर ब्याज मात्रै असुल्ने जस्तोे व्यवहार गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले देखाउनुपर्ने यो उच्च प्रोफेसनालिज्म कम्तीमा हामीले हेर्न पाएका छैनौं । 

बैंकको ऋण चलाइ रहेको मेरो व्यवसायलाई सर्पोट हुने कुनै पनि एडभाइस बैंकबाट पाउने गरेको छैन । नियमितरूपमा पीर मर्का र समस्या बुझ्ने व्यवहार बैंकबाट भएको पाएर उत्साहित व्यवसायी पाउन गाह्रो छ । तर ब्याज बढ्यो भने म्यासेज गर्ने र जिम्मेवारीबाट पन्छिने व्यवहार छ । बैंकले ऋण पूँजीको रूपमा दिएकोले साझेदार हिसाबमा व्यवहार गरेको पाइँदैन् । बैंकसँग म मात्रै होइन पोखराका ९९ प्रतिशत पर्यटन व्यवसायीहरू न्तुष्ट छैनन् । यो सुधार गर्नुपर्ने विषय हो । 

सुध्रनु पर्ने सरकारी नीति र व्यवहार

सरकारी नीति र व्यवहार दुवै पर्यटन र यससँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका क्षेत्रहरूका का लागि सुधार हुनुपर्ने देखिन्छ । उच्च प्राथमिकतामा राखेर विकासका कार्यक्रमहरु ल्याउनुपर्नेमा नीतिगत कमजोरी मात्र हैन भएका नीति कार्यान्वयनमा कर्मचारीतन्त्रले देखाउने व्यवहार पनि हतोत्साहित खालको छ । हामीले वर्षेनि मदिरा आयातबाट पनि ठूलो रकम बाहिर पठाउँछौं । यसको साटो हामी आफैले स्वदेशमा गरेको उत्पादनलाई किन ब्राण्डिङ नगर्ने ? सानो र नमिठो अनुभव मसँग पनि छ । नेपालको कानुनले माइक्रो बु्रअरी खोल्न पाइने भनेको छ । यसो हुँदा मदिरामा विदेशीले रकम यतै रोकिन सक्छ । यसका लागि उद्योग विभागमा मैले अनुरोध गरेँ । तर उद्योगी व्यवसायी ऐन २०७६ ऐनको स्पष्ट व्यवस्थालाई नकार्दै विभागले अनुमति दिन मानेन । मँ यसको लागि अदालत गएको छु, कानुनी लडाइँ लडिरहेको छु । 

पयर्टकलाई हामीले जति सक्यो स्थानीय उत्पादन दिन सक्यो भने खुशी हुन्छन् । बिडम्बना नै भन्नुपर्छ हामीले चाहेर वा नचाहेर पोखरामै पनि स्थानीय उत्पादनलाई होटेलेलमा दिन सकेका छैनौं । पोखराको सिग्नेचर फुड के हो भन्ने हामीले भन्न सक्ने अवस्था छैन । हामीसँग यति धेरै ताल छन् । तालमा माछा पालियो भने मात्र पनि पोखराको खास माछा भनेर ब्राण्डिङ गर्न सकिन्छ । तर सरकारले अनुमति दिनुपर्यो, नीति बनाउनु प-यो । तर गर्दैन । 

हामी पर्यटन व्यवसायीले पनि सकेसम्म स्थानीय खानालाई प्राथमिता दिनुपर्छ । तीनवटै तहका सरकारले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर लैजाने नीति बनाउन्, हामी कार्यान्वयन गर्न तयार छौं । पर्यटन क्षेत्रको भविष्य सुन्दर छ । व्यापार घाटा कम गर्न पर्यटन मुख्य माध्यम बन्न सक्छ । हामी सबै मिलेर पर्यटन क्षेत्र र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । प्रतिबद्धता र तदारुकता भने आवश्यक छ ।

(टक्सार म्यागजिन, पुस २०७८ मा प्रकाशित)