निजी डेरीकाे दूध प्रतिलिटर १० रुपैँया बढ्याे, किसानले डीडीसीकाे भन्दा २ रुपैयाँ बढी पाउने


काठमाडौं । निजी क्षेत्रका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले फागुन १ गतेबाट लागु हुनेगरि दुधको मूल्य प्रति लिटर १० रुपैँयाले वृद्धि गरेकाे घाेषणा गरेका छन्। शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्रति पोका दुधको मूल्य प्रति पोका ४३ रुपैँया र प्रति लिटर ८६ रुपैँया कायम गरेको जानकारी दिएका हुन् ।

उपभोक्ताले प्रति पोका ३८ रुपैँयामा किन्ने दुध बढेर ४३ रुपैँया पुगेको छ। डीडीसीले बेच्ने दूधकाे मूल्य भने प्रति पाेका ४२ रूपैयाँ ५० पैसा छ ।

प्रति पाेका दूध विक्री गर्ने प्रचलन रहेकाेमा ५० पैसाकाे हिसाब गर्ने गरि गरिएकाे मूल्य वृद्धि अवैज्ञानिक रहेकाे र दुग्ध विकास बाेर्डले गरेकाे अध्ययन अुनरूपकाे सिफारिस भन्दा फरक तरिकाले डीडीसीले मूल्य वृद्धि गरेकाे भन्दै निजी उद्याेगीहरूले फरक मूल्य सार्वजनिक गरेका हुन् ।

किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्युनतम मूल्य सहकारी संस्थाहरु समेतको गरि (४ प्रतिशत फ्याट, ८ प्रतिशत (एस. एन. एफ) को ५३.४५ बाट वृद्धि गरि ६२ रुपैँया बनाएको डेरी उद्याेग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

यसअघि सरकारी स्वामित्वकाे दुग्ध विकास संस्थान (डीडीसी) ले आज (शुक्रवार) देखि लागू हुने गरि ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएसएफ गुणस्तरकाे दूधकाे मूल्य पोकाको दूधको मूल्य प्रति लिटर ८५ रुपैया कायम गरेको छ ।

विगतमा डीडीसीले गरेकै वृद्धि अनुरूप मूल्य गर्दै आएका नीजि डेरीले पहिलो पटक डीडीसीसँग असहमति जनाउदै डीडीसीकाे भन्दा प्रतिलिटर एक रूपैयाा बढी अर्थात् प्रतिलिटर १० रुपैँया वृद्धि गरेको जनाएका छन् ।

चितवन केन्द्र मानेर दूधकाे नयाँ मूल्य कायम गरिएकाे हाे । यसमा दुरीको आधारमा अन्य क्षेत्र वा जिल्लाको मूल्य निर्धारण गरिने नेपाल डेरी एशाेसिएसनका अध्यक्ष राधाकृष्ण सापकाेटाले बताए ।