फागुन २२ गतेदेखि आइएमआई जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्दैे


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद निश्कासन तथा बिक्री खुला गर्ने भएको छ । आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ । यसैको ४० प्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन हुन लागेको हो ।

फागुन २२ गतेदेखि निश्कासन हुने हकप्रद खरीदका लागि सो कम्पनीका सेयरधनीहरुले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

माघ २९ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा कारोबार भई कायम सेयरधनीहरुले मात्र यो हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले उक्त हकप्रद निश्कासनमा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई नियुक्त गर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।