तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् ।

घरेल् तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायतका उद्योग दर्ता हुँदै आएका छन् ।

दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएको थियो ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए । “कोरोना भाइरस सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्”, उनले भने, “कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।” जिल्लामा दर्ता भएका उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

कार्यालयले सोही अवधिमा रु ३० लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । दर्ता भएका उद्योगबाट रु ३० लाख ४३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पुँजी भएको उद्योगले रु ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार १०० , रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।