भोलिदेखि आउँदैछ नेष्डो समृद्ध लघुवित्तको आइपीओ, कति कित्तासम्म आवेदन दिन मिल्ने ?


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलिदेखि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले भोलि फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

संस्थाले १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ ।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

संस्थाले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमआई क्यापिटललाई नियुक्त गरेको छ ।

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुने भनिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

पर्वतको कुस्मास्थित न्युरोडमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको चुक्तापुँजी ३३ करोड १५ रुपैयाँ र रिजर्भमा ५९ करोड ४४ लाख रुपैयाँ रहेको छ। अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०÷८१ मा रिजर्भको आकार बढेर १ अर्ब १९ करोड रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ ।
हाल संस्थाले ५६ वटा शाखा कार्यालयहरुबाट ७८ हजार ५४ सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ।