ऋण घोटाला गर्ने १ चिनियाँ नागरिकसहित ३७ जना पक्राउ


काठमाडौं । ऋण घोटाला (लोन स्क्याम) गर्ने एक चिनियाँ नागरिक सहित ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुरानो बानेश्वरमा घर भाडामा लिएर उनीहरूले लेमन ग्रुप अफ कम्पनी दर्ता गरी विभिन्न एप्लिकेशन बनाउँदै ऋण घोटाला गर्दै आएको प्रहरीले जनाएको छ ।

सिन्धुलीका दीपक श्रेष्ठको नाममा कम्पनी दर्ता गरी चिनियाँ नागरिक चाङ हुइ बाओले बिभिन्न एप्लिकेशनहरु इजी क्रेडिट, फ्रि क्यास ह्याण्डी लोन, गो लोन, रूपि स्टार र हाइ क्यास मार्फत गैर कानूनी तवरले ऋण घोटाला गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट खटिएको बिशेष टोली र प्रहरी बृत्त, नयाँ बानेश्‍वरको संयुक्त प्रहरी टोलीले ३७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १ चिनियाँ नागरिक, २३ जना नेपाली पुरुष र १३ जना नेपाली महिला रहेका छन् ।

प्रहरीले ऋण घोटाला गर्न प्रयोग भएको चिनियाँ नागरिको ल्यापटप ४ थान, चिनियाँ नागरिककै मोबाइल २ थान बरामद गरेको छ । बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।