राष्ट्र उत्थान लघुवित्तको आइपीओ भोलि दिउँसो बाँडफाँड हुने


काठमाडौं ।  राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आइपीओ) भोलि बाँडफाँड हुने भएको छ । संस्थाले जारी गरेको उक्त आइपीओ भोलि (बिहीबार) दिउँसो ३ बजे बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको कार्यालय बाँडफाँड हुने भएको हो ।

संस्थाले फागुन ४ गतेदेखि ८ गते सम्म सर्वसाधारणका लागि ८ लाख ५० हजार कित्ता सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संस्थाको आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ३८.४२ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।