१५ अंकले घट्यो नेप्से परिसूचक, नेपाल टेलिकमको सर्वाधिक कारोबार


काठमाडौं । सोमबार र मंगलबार दोहोरो अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले नै घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले घटेर २७२०.४३ अंकमा झरेको छ। त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

बुधबार पनि नेपाल टेलिकमको नै सर्वाधिक कारोबार भएको छ । टेलिकमको १९ करोड ३७ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आजको दिन युनाइटेड ईदी–मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किठ लागेको छ ।

त्यस्तै १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३.९६ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।