सेयरबजारमा ६३ अंकको गिरावट, नेप्से २५ सयको हाराहारीमा झर्‍यो


काठमाडौं । सेयरबजारमा आज भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० अंकमा झरेको छ भने यस्तै, सेन्सेटिभ परिसूचक ११.५२ अंकले घटेर ४८८.६९ अंकमा झरेको छ ।

एमसीसी पास भएसँगै बजारमा उछाल आउने हल्ला गरेपनि अहिले भने बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभावको प्रत्यक्ष प्रभाव सेयरबजारमा देखिएको लगानीकर्ता बताउँछन् ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेर ५ सय ७२ रूपैयाँ पुगेको छ ।

आजको दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२६ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २ सय ४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।