कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा बाग्मतीकाे, कुन प्रदेशकाे अवस्था कस्ताे?


काठमाडौं । बागमती प्रदेशले ‘भी-सेप’को आर्थिक बहाली हासिल गरेको छ । कोभिड-१९ रोकथामका लागि लगाइएको पाँच महिने लकडाउनका कारण सर्वाधिक असर परेको बागमती प्रदेशले दुई आर्थिक वर्षमा उच्च अंकको आर्थिक वृद्धिदर हासिल गरि ‘भी-सेप’ को आर्थिक बहाली हासिल गरेको हो । एकै पटक ठूलो अंकले नकारात्मक वृद्धिमा गएको अर्थतन्त्र पुनः छोटो अवधिमा नै उच्च अंकले बढ्नु ‘भी-सेप’ को आर्थिक बहाली हो ।

आर्थिक वर्ष २०७६/७७ मा बागमतीको आर्थिक वृद्धिदर ५.६९ प्रतिशतले ऋणात्मक भएको थियो । गत आर्थिक वर्ष २०७७/७८ मा ४.५८ प्रतिशतको वृद्धिदर हासिल गरेको बागमतीले चालु आर्थिक वर्ष २०७८/७९ मा ६.७४ प्रतिशतको वृद्धिदर हासिल गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यो सातै प्रदेशमध्ये सर्वाधिक हो ।

चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको सबैभन्दा बढी हिस्सा बाग्मती प्रदेशको रहेको छ । विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादनको सबैभन्दा बढी ३६.९ प्रतिशत हिस्सा बाग्मती प्रदेशको छ ।

आर्थिक गतिविधि, विशेषतः सेवाक्षेत्रको गतिविधि तुरुन्तै क्रियाशील भएकोले बागमतीको अर्थतन्त्र छिट्टै बहाल भएको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा बढी हिस्सा ३६.९ प्रतिशत योगदान सहित बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।

त्यस्तै सबैभन्दा कम हिस्सा ४.१ प्रतिशतको योगदान कायम गरी कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिव रु. १ खर्व ९८ अर्बको हाराहारी हुने अनुमान गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशत अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

संशोधित अनुमान अनुसार गत वर्ष पनि बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६ प्रतिशत देखियो भने गण्डकी प्रदेशमा सबैभन्दा कम दर ३.७ प्रतिशत रहने देखिएको विभागले जनाएको छ ।

बागमती प्रदेश बाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ भने राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा मै कायम रहेको छ ।

बागमती प्रदेशमा घरजग्गा सम्बन्धि कारोबार तथा आफ्नै आवासको सेवाको हिस्सा दोस्रो छ । यसैगरी गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ ।

बागमती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश १ः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ७ खर्व ६३ अरव हुने अनुमान गरिएको छ । भने गत आर्थिक वर्षको संशोधित अनुमान करिव रु. ६ खर्व ७६ अरव रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशतले थियो भने यस आ.व.मा सुधार आई ५.४ प्रतिशत कायम रहने अनुमान गरिएको छ ।

मधेश प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ६ खर्व ४४ अरव हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिव रु. ५ खर्व ७२ अरव रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा १३.३ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.८ प्रतिशत थियो भने यस आ.व.मा सुधार आई ४.८ प्रतिशत कायम रहने अनुमान गरिएको छ ।

बागमती प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. १७ खर्व ९१ अरव हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिव रु. १५ खर्व ६८ अरव रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा ३६.९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.६ प्रतिशत थियो भने यस आ.व.मा सुधार आई ६.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ४ खर्व ३२ अरव हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिव रु. ३ खर्व ८० अरव रहेको छ । गत आ.व. मा जस्तै यस प्रदेशले चालु आ.व.मा पनि राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.७ प्रतिशत थियो भने यस आ.व.मा सुधार आई ६.२ प्रतिशत हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ६ खर्व ८५ अरव हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिव रु.६ खर्व ४१ अरव रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा पनि सोहि प्रतिशत नै योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.१ प्रतिशत थियो भने यस आ.व.मा सुधार आई ५.४ प्रतिशत हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. १ खर्व ९८ अरव हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिव रु. १ खर्व ७६ अरव रहेको छ । गत आ.व.मा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ । यसै गरी गत आ.व. मा कुलगार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशत थियो भने यस आ.व.मा सुधार आई ५.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

सुदुरपश्चिम प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ३ खर्व ३९ अरव हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिव रु. ३ खर्व १२ अरव रहेको छ । गत आ.व.मा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आ.व. मा कुलगार्हस्थ उत्पादनको बृद्धि दर ४.२ प्रतिशत थियो भने यस आ.व.मा सुधार आई ४.९ प्रतिशत हुने अनुमान गरिएको छ ।