अर्थ प्रणालीमा धार्मिक–आध्यात्मिक प्रभाव


परम्परागत रूपमा विभिन्न तिथि पर्वहरूमा हुने हाटबजारदेखि दसैैं–तिहार, महाशिवरात्रि, फागुपूर्णिमा, नयाँ वर्षजस्ता अवसरमा हुने उपभोग्य खपतले राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदानलाई कुल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनमा कहीं–कतै उल्लेख नगरिनु विडम्बनाको कुरा हो ।

दिवाकर पन्त

वैदिक सनातन संस्कृतिको मूल थलो नेपालको आर्थिक उन्नति र आर्थिक प्रणालीमा धार्मिक क्षेत्रको भूमिका र योगदान कति होला ? ठ्याक्कै भन्न निकै कठिन छ । किनकि, नेपालको नीतिनिर्माता निकायले रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा खेलेको भूूमिकाको अध्ययन त गरेकोे छ तर हाम्रो सभ्यतादेखि नेपालीको जीवन पद्धति विकासमा भूमिका खेलेका कतिपय क्षेत्रमा दृष्टि पु-याउन पटक्कै सकेको छैन । 

त्यस्ता निकायमा कार्यरत प्रा.डा.हरूमा ‘धार्मिक क्षेत्रले आर्थिक विकास र प्रणालीमा पु¥याएको योगदान’ को पनि अध्ययन गर्नु पर्दछ भन्ने ज्ञातको विषय त परको कुरा, धार्मिक जगतले आर्थिक प्रणाली समृद्ध गर्न ठूलो भूूमिका हुन्छ र हालको आधुनिक समयमा यसमा आधारित बजार अर्थतन्त्रलाई बलियो स्तम्भका रूपमा नेपाल जस्तो देशमा अघि लैजान सकिन्छ भन्ने विषयमा चिन्तन गर्ने दृष्टि पनि देखिँदैन ।

परम्परागत रूपमा विभिन्न तिथि पर्वहरूमा हुने हाटबजारदेखि दसैैं–तिहार, महाशिवरात्रि, फागुपूर्णिमा, नयाँ वर्षजस्ता अवसरमा हुने उपभोग्य खपतले राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदानलाई कुल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनमा कहीं–कतै उल्लेख नगरिनु विडम्बनाको कुरा हो । दसैंका बेला विदेशबाट भित्रिने रेमिट्यान्सको मात्रामा आउने उछालजस्तै त्यस समयमा सर्वसाधारण जनस्तरमा पुग्ने आर्थिक चक्रको अध्ययन अब आवश्यक छैन र ? 

त्यसमाथि आधुनिक समयमा हाम्रा वैदिक शक्तिपीठमा निजी क्षेत्रका लगानीकर्ताले व्यावसायिक दृष्टिकोणबाट गरेको लगानीले राष्ट्रिय उद्यमशीलता र आर्थिक चक्रका बारेमा पु¥याइरहेको योगदानको व्यवस्थित चर्चा गर्ने बेला भएन र ? अब धार्मिक–आध्यात्मिक क्षेत्रमा आधुनिक लगानीसहित व्यवस्थित व्यावसायीकरणको सूत्र विकास गर्ने बेला भएन र ? यसले देशको कुल गार्हस्थ्य उत्पादनमा व्यवस्थित तरिकाले योगदान गर्नसक्छ भन्ने यथार्थ बोध गर्ने बेला भएन र ? 

धार्मिक गन्तव्यमा आधुनिक प्रविधिका लागि गरिएका लगानीले सिर्जना गरेको आर्थिक उपार्जनको परिणामसहितका केही यस्ता उदाहरणले अब धार्मिक जगमा आधारित अर्थतन्त्र पनि देशका लागि आत्मनिर्भर अर्थतन्त्रको दिशामा योगदान पु¥याउन सक्ने बलियो पक्ष हुनसक्छ भन्ने सोच विकास गर्नुपर्ने बेला भइसकेको छ ।

केही व्यवसायीले देशका प्रख्यात धार्मिक केन्द्रमा समय सापेक्ष प्रविधिमा लगानी गरी उद्यमशीलतामार्फत् आर्थिक चक्र प्रवद्र्धन गरेका छन् । देशका बाँकी धेरै स्थलमा एकै प्रकारको नक्कल नभई नयाँ सोच र ढंगको विकासबाट सदियौंदेखि हुँदै आएको धार्मिक तीर्थ जात्राबाट सिर्जित आर्थिक चक्रको विरासतलाई आधुनिक धार्मिक–आध्यात्मिक जगतमा आधारित अर्थ प्रणालीमा रूपान्तरित गर्न सकिन्छ । 

‘मनकामना मन्दिर दर्शन’ मा आधारित व्यवसायीकरण 

देशकै पहिलो केबलकार व्यवसायका रूपमा स्थापित सेवा देशकै प्रख्यात तीर्थस्थल गोरखास्थित मनकामना मन्दिर दर्शनका लागि सुुरु गरिएको थियो । मनकामना केबलकारले २०५५ मंसिर ७ देखि आफ्नो व्यावसायिक सेवा सञ्चालनमा ल्याएको हो । स्थापनाको २३ वर्षमा केबलकार सञ्चालन गर्ने कम्पनी मनकामना दर्शन प्रालिले १ करोड ५० लाख दर्शनार्थीलाई आफ्नो केबलकारको माध्यमबाट मनकामना मन्दिर दर्शनका लागि सेवा पु¥याइसकेको जनाएको छ । अर्थात् २३ वर्षमा मनकामना दर्शनका लागि डेढ करोड मानिसले यस केबलकारको प्रयोग गरेका छन्। 

यसले सिर्जना गरेको आर्थिक चक्र अत्यन्त ठूलो, अर्बाै रुपैयाँ बराबरको भएको स्पष्ट हुन्छ । यस केबलकारमा १ सय कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । 

मनकामना दर्शन प्रालिका जनसञ्चार अधिकृत निना शाक्यले सरकारलाई कमाइको १३ प्रतिशत मूल्य अभिवृद्धि करका अलावा २ प्रतिशत स्थानीय निकायलाई कर बुझाउने गरेको जानकारी दिइन् । उनका अनुसार केबलकार सञ्चालनका लागि एक सय कर्मचारी आबद्ध रहेको र त्यसमा स्थानीय समेतलाई प्राथमिकतामा राखिएको छ । अहिले मनकामना केबलकार हुँदै वार्षिक १२ लाख श्रद्धालु मनकामना मन्दिर दर्शनका लागि पुग्ने गरेको तथ्यांकअनुसार दर्शनार्थीहरूले त्यहाँ गर्ने आर्थिक खर्च उल्लेखनीय हुन आउँछ । 

यति ठूलो संख्यामा एउटै क्षेत्रमा पुग्ने मानिसमाझ स्थानीयले आ–आफ्नो गाउँघरमा उत्पादित सामान बिक्री गर्ने राम्रो अवसर पाउने गर्दछन् । देशमा १० लाख बाह्य पर्यटक भित्र्याउन राखिएको लक्ष्य बल्लबल्ल पूरा भएको यथार्थ सन्दर्भमा एउटै केबलकारबाट वार्षिक १२ लाख मानिस एउटै स्थानको लक्ष्यमा पुग्नु आफैमा बजारीकरणका लागि ठूलो सम्भावना हो । 

त्यहाँ आबद्ध कर्मचारीहरूमध्ये स्थानीयले आफ्नै घरको मिठो–मसिनो खाएर र परिवारका साथमा बसेर आफ्नै स्थानीय गाउँघरमा रोजगारी गर्ने र आर्थिक उपार्जन गर्ने अवसर पाएका छन् । स्थानीय कृषकले मात्र नभई गोरखा जिल्लासहित वरपरका हजारौं कृषकले उत्पादन गरेका बोका, तरकारी, सुन्तला, चामल, साग, दालसहित अन्य कृषि उपज बिक्री गर्ने बजार पाएका छन् । 

मनकामना मन्दिरमा दर्शनका लागि केबलकारको स्थापनापछि बढेको चहलपहलसँगै मन्दिर वरपर खुलेका सयौं होटल, लज, रेस्टुराँ, चिया पसल, धार्मिक पूजा पसल, फोटो तथा टोकन पसल, उपहार पसलसहित धेरै व्यावसायिक गतिविधिले त्यस क्षेत्रमा ठूलो आर्थिक प्राणाली विकास गरेको छ । केबलकारपछि बढेको मानिसहरूको आवागनमले स्थानीयमा उद्यमशीलताको प्रत्यक्ष र परोक्ष प्रभाव पारेको मात्र नभई यसले ती मानिसहरूको परिवारमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण, सोच आदिजस्ता क्षेत्रमा पहुँच बढाएको छ । 

एउटा धार्मिकस्थलमा गरिएको प्राविधिक संयन्त्रको जोडाइसहितको व्यवसायीकरणले उत्पन्न गराएको आर्थिक चक्रलाई अर्थशास्त्रीय दृष्टिकोणबाट कम आँक्न मिल्दै मिल्दैन । यस्तो सम्भावना नेपालको के–कति स्थानमा सोही मोडलमा वा अहिल फरक फरक मोडलमा छन् ? नीति निर्माणको तहबाट भएको छ ? नेपालका अर्थ राजनीतिक विद्वान तथा नीति निर्मातालाई सोझिने यो सबैभन्दा महत्वपूर्ण प्रश्न पनि हो ।

नवप्रवर्तनको कछुवा गति

मनकामनामा केबलकार स्थापना भएको १८ वर्षसम्म देशका कुनै पनि धार्मिकस्थलमा सोही केबलकार जस्तै सेवा विस्तारित हुन सकेनन् । व्यवसायी स्व. लक्ष्मणबाबु श्रेष्ठले देशकै पहिलो केबलकारका रूपमा स्थापना गरेको केबलकारको सफल व्यवसाय भएको झण्डै दुई दशकसम्म सो समूूहले पनि देशका अन्य स्थानमा यस्तै प्रकृतिको सेवा विस्तार गर्न सक्नेतर्फ सोच राखेको देखिएन भने अन्य व्यवसायीहरूले पनि यति राम्रो सफल मोडललाई व्यावसायिक रूप दिन नसकेको देखिन्छ । 

सामान्यतयाः नेपालमा उद्यमशीलताको क्रमलाई अरु कोही कसैले गरेको सफल व्यवसायको अनुकरण जस्ताको तस्तै गरी आफूले पनि व्यवसाय गर्ने भन्ने आरोप लाग्ने गर्दछ । जस्तै अरुले कुखुरापालन गरेर नाफा गरेको देखेपछि अरु सैयौंले पनि सोही काम गर्ने, अरुले गलैंचा उद्योग गरेको देखेपछि धेरैले सोही काम गर्नेलगायतका क्रम प्रशस्तै देखिन्छ । तर धार्मिक क्षेत्रको सम्भावनालाई व्यावसायिक रूप दिने क्रममा भने नेपालका व्यवसायीहरू १८ वर्षसम्म चुके । 

मनकामनामा केबलकार सञ्चालनमा आएर सफल व्यवसाय गरेको १८ वर्षपछि मात्र काठमाडौंको चन्द्रागिरिमा, चन्द्रागिरि केबलकार सञ्चालनमा आउन सक्यो । चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव दर्शनका लागि चन्द्रागिरि केबलकारको स्थापना २०७३ मंसिर ३० आएर मात्र हुनसक्यो । 

त्यसपछि, दोलखास्थित कालिञ्चोक मन्दिर दर्शनका लागि स्थापना गरिएको कालिञ्चोक केबलकार २०७५ कात्तिक १७ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको देखिन्छ । 

अर्काे प्रख्यात धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि जान व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याउन निर्माणकार्य जारी छ । 

त्यसैगरी नवलपरासीस्थित मौलाकाली मन्दिरमा पनि केबलकार निर्माणकार्य अघि बढ्न लागेको छ । अर्थात्, निजी क्षेत्रका व्यवसायीले हाल एउटै मोडलमा धार्मिक स्थलमा मुनाफा आर्जनका लागि धमाधम केबलकार निर्माणको क्रमलाई तीव्रता दिएको देखिन्छ । 

यसलाई सकारात्मक रूपमा लिन सकिए पनि एउटा व्यवसायीले जे ग¥यो अरु सैयौंले पनि सोही कुरालाई अन्धाधुन्ध नक्कल गर्ने भन्दा नवप्रवर्तनसहित अघि बढाउन सकेको भए अझ उत्तम हुने थियो । अब निजी क्षेत्रका केही व्यवसायीहरू देशका विभिन्न मन्दिर तथा तीर्थस्थलमा एकपछि अर्काे केबलकार बनाउन तँछाडमछाड गर्ने आकलन गर्न सकिन्छ ।

योसँगै धार्मिक आध्यात्मिक केन्द्रस्थलसम्बन्धी व्यवसायमा नवप्रवर्तन गर्न सके व्यवसायको सम्भावना प्रचुर रहेको स्वतः प्रमाणित हुन्छ । यसले एकातर्फ तीर्थयात्रुको यात्रालाई सहज बनाइदिन्छ भने उनीहरूको समय बचत भई आर्थिक उपार्जनमा लगाउनसमेत सक्नेछन् । त्यसैगरी अर्काेतर्फ निजी क्षेत्रका व्यवसायीले लगानी गरी प्रत्यक्षरूपमा नाफा आर्जन गर्नसक्ने र सरकारले पनि प्रत्यक्ष रूपमा करको लाभ लिन सक्नेछ । 

जसबाट स्थानीय बासिन्दाले समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आर्थिक लाभ लिन सक्ने देखिन्छ । तर त्यसका लागि अरुले जे सफल परियोजना ग¥यो अरु धेरै पनि सोही गर्ने भन्दा धार्मिक क्षेत्रमा आधारित नयाँ केही सोचमा आधारित नवप्रवर्तन गर्न सकिन्छ कि भन्ने सोच निजी क्षेत्रमा आउनु पर्छ ।

मानव निर्मित धार्मिक–गन्तव्य 

आफ्ना जनताप्रति जिम्मेवार राजनीतिक नेतृत्व सदैव जनताको आर्थिक समृद्धिका लागि क्रियाशील रहन्छ । त्यस्तो नेतृत्वले प्रतिकूलतालाई हारको विषय नमानी सम्भावनाको अवसरका रूपमा ढाल्न हरदम तयार हुन्छ । संसारमा यस्ता भिजनरी नेतृत्व देखिए जसको नेतृत्वमा ती देशका जनताले आफ्नै जीवनकालमा समृद्धिको जीवन देख्न र भोग्न पाए । 

जसमा सिंगापुरका लि क्वान यु, मलेसियाका महाथिर मोहम्मद, सिक्किमका पवन चाम्लिङजस्ता नेतृत्वलाई लिन सकिन्छ । सिक्किमका मुख्यमन्त्री चाम्लिङले नाम्चीस्थित एक डाँडोलाई विकटताको सीमाका रूपमा नबुझी चारधामका रूपमा सपना देखे र बनाए मानव निर्मित– चारधाम । जहाँ वैदिक सनातनीले जीवनमा दर्शन गर्ने चारधामलाई नमुुनाका रूपमा जस्ताको तस्तै नाम्चीमा उतारे, शिवका विशाल मूर्ति बनाए । त्यसयता नाम्चीमा पर्यटकको ओइरो लाग्न थालेको छ । भारतका विशाल जनसंख्याको सानो अंश मात्र पनि चार धाम पुग्दा सिक्किमेली जनताको आर्थिक जीवनमा अकल्पनीय वृद्धि हुने स्थिति त्यहाँ सिर्जना भएको छ । 

नेपालको हकमा वैदिककालदेखि नै स्थापित शक्तिपीठहरूमा सुहाउँदो व्यवसायीकरण गर्न सकेमा सिक्किमको नाम्चीमा रहेको जस्तो चारधाम प्रशस्तै नेपालमा विद्यमान छ । तर, राजनीतिक सोचको अभावका कारण बहुमूल्य हुँदाहुँदै पनि भिल्लका देशमा मिल्किएको मणिका रूपमा ती स्थलहरू आमसर्वसाधारणको नजरमा छायाँमा पर्दै जाने अवस्था छ । 

धार्मिक–आध्यात्मिक रस बुझेका तीर्थालु जाने भए पनि त्यसलाई व्यवसायीकरण गरेर बृहत् प्रचारप्रसारमार्फत् सबैको ध्यान खिच्न सक्ने सम्भावना छ । यद्यपि, नेपालका सक्कली तीर्थस्थलबाट प्राप्त गर्नुपर्ने लाभ पाउन नेपाल वञ्चित भइरहेको र मानवनिर्मित नक्कली धामहरू प्रचारप्रसारमार्फत् आगामी दिनमा सक्कलीजस्तो देखिने विडम्बनाको जोखिम बढ्दो छ ।

अन्तर्राष्ट्रिय सन्दर्भ

संसारका कतिपय धर्म र धर्म गुरुहरूको केन्द्रस्थललाई ती देशका सरकार वा स्थानीय निकायले निकै महत्वपूर्ण व्यवस्थित तरिकाले प्रवद्र्धन गरेका छन् । यसले धार्मिक–आध्यात्मिक प्रवद्र्धन त गरेको छ नै, सम्बन्धित स्थानको आर्थिक विकासमा प्रत्यक्ष वा परोक्ष रूपमा निकै योगदान गरेको छ । 

इस्लाम धर्मको तीर्थस्थल मक्का–मदिना, इसाईको भ्याटिकन सिटी, भारतका गुरु अरविन्दोको आश्रम, सिखको तीर्थस्थल स्वर्ण मन्दिर, संसारका विभिन्न सहरमा रहेका अक्षरधाम मन्दिर, भारतीय गुरु सद्गुरु आश्रम, भारतीय गुरु सिरडी साईबाबा आश्रम केही उदाहरणका रूपमा लिन सकिन्छ । जसमा बर्सेनि करोडौं करोड मानिस दर्शनका लागि पुग्ने गर्दछन् । 

ती स्थल जानका लागि आधुनिक सुविधासहितको यातायातका साधनहरूको व्यवस्था, आधुनिक बस्ने व्यवस्था, स्थानीय कला कौशलका सामग्रीको बिक्री योजना, स्थानीयको आर्थिक उन्नतिको सोच आदिलाई योजनाबद्ध तरिकाले अघि बढाइएको छ । 

हुनत धार्मिक–आध्यात्मिक विषयलाई प्रत्यक्ष रूपमा आर्थिक मूल्यमा रूपान्तरित गर्ने विषय त्यति राम्रो पनि नहुन सक्छ । तर यसको मूल मर्मलाई कायम राख्दै, यसको भित्री आकर्षणलाई जोगाउँदै, तीर्थ यात्रुको भावनालाई कदर गर्दै, धार्मिक–आध्यात्मिक फ्लेभर कायम राख्दै समयअनुसारको व्यवस्था गरी प्रचारप्रसार गर्दै यसबाट देशको अर्थतन्त्रमा समेत योगदान पु-याउने छ । यस्तो उद्देश्य प्राप्त केवल सरकारी–निजी–धार्मिक आध्यात्मिक–सामुदायिक सहकार्यबाट मात्र सम्भव हुनेछ । नेपालका सबै पक्ष यसबारे मन्थन गरी कार्यान्वयनमा जानेबारे अग्रसर हुनुपर्ने अपरिहार्यता देखिएको छ ।