स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभरबीच सम्झौता


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच सम्झौता भएको छ । युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् ।

बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई वित्तीय श्रोत उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । जसले वितरकहरुको सम्पूर्ण चालू पूँजीलाई समेट्ने, महामारी, तरलता आदि लगायतका कठिन समयमा पनि उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न अपेक्षा कम्पनीले लिएको छ । ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा बैंकका नेपाल सिइओ अनिर्वाण घोष दास्तिदारले भने,“युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।”

युनिलिभरका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले भने,“वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युनिलिभरलाई निर्वाध प्रगती गर्न सक्षम बनाएको छ र जिन्दगीलाई जीवन्तता प्रदान गर्ने हाम्रा ब्राण्डहरुको आपूर्तिलाई निरन्तर रुपमा उपलब्ध गराएर हाम्रा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गरेको छ । वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत हो र हाम्रा ग्राहकहरुको महत्वपूर्ण आबद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा हामी अत्यन्त उत्साहित पनि छौं ।