काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफामा २८.७४ प्रतिशतले गिरावट आएको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २९ प्रतिशतले घटेको हो ।
अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको पहिलो त्रैमासमा रहेको करिब २१ करोड ५६ लाख रुपैयाँ रहेकोमा चालु वर्षको पहिलो त्रैमासमा १५ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी (इपिएस) समेत ९.५५ रुपैयाँबाट घटेर ६.४८ रुपैयाँमा झरेको छ ।
यसअघि कम्पनीको लगानी प्रतिफल आर्थिक वर्ष २०८०/८१ मा १०.१ प्रतिशत, २०८१/८२ मा ९.४ प्रतिशत र २०८२/८३ मा ८.१ प्रतिशतमा झरेको थियो । लगातार ओर्लँदो प्रतिफलले कम्पनीको लगानी आम्दानी र नाफामा दबाब सिर्जना गरेको देखिन्छ ।
कम्पनीले बीमा व्यवसाय विस्तार गरिरहँदा दाबी तथा भविष्यमा भुक्तानी गर्नुपर्ने दायित्व पनि उल्लेख्य रूपमा बढेको छ । पहिलो त्रैमासमा खुद आमदानी तथा दाबी खर्च १७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी हो ।
जीवन बीमा कम्पनीमा नयाँ व्यवसाय बढेसँगै भविष्यमा भुक्तानी गर्नुपर्ने दायित्वका लागि ठुलो रकम छुट्याउनुपर्ने हुन्छ । यसले तत्कालीन नाफालाई दबाबमा पार्ने गर्छ ।
नेपाल लाइफको अभिकर्ता कमिसन, कर्मचारी सुविधा तथा प्रशासनिक खर्च पनि बढेको देखिएको छ । पहिलो त्रैमासमै कम्पनीले एक अर्ब ७ करोड रुपैयाँभन्दा बढी कमिसन खर्च, २५ करोड रुपैयाँभन्दा बढी कर्मचारी सम्बन्धी खर्च र अन्य सञ्चालन खर्च वहन गरेको देखिन्छ । यसले कुल आम्दानी बढे पनि नाफा वृद्धिलाई कमजोर बनाएको छ ।
नाफा घटे पनि कम्पनीको वित्तीय आधार भने मजबुत रहेको देखिएको छ । कम्पनीको कुल सम्पत्ति ३ खर्ब रुपैयाँ नाघेको छ भने जीवन कोष २ खर्ब ८६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । पहिलो त्रैमासमा कुल बीमाशुल्क आम्दानी पनि १० प्रतिशतभन्दा धेरैले बढेर १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । नयाँ व्यवसायसँगै नवीकरण बीमाशुल्क पनि उल्लेख्य रूपमा बढेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्