सेयरबजारमा हरियाली, नेप्से परिसूचक ५७ अंकले बढ्यो


काठमाडौं । साताको कारोबारबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ५७ अंकले बढेको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ अंकमा पुगेको छ भने यता सेन्सेटिभ परिसूचक पनि १०.२२ अंकले बढेर ३९८.८४ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

आजको दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड २८ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा ६ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, अपर तामाकोशी, हिमालयन पावर पार्टनर, साञ्जेन जलविद्युत र साल्ट ट्रेडिङको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज ८.५ प्रतिशत बीओके डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ९.३१ प्रतिशतले घटेको छ ।

कूल २३१ वटा कम्पनीको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।