नेप्से परिसूचक ४६ अंकले घट्यो, कारोबार रकममा समेत गिरावट


काठमाडौ । केही दिन बजार बढ्ने आशामा रहेका लगानीकर्ता फेरी निराश बनेका छन् । मंगलबार सेयरबजारमा ४६ अंकको पहिरो गएको छ भने सोमबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.७१ अंकले घटेर ३८७.२३ अंकमा झरेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा सानिमा बैंक लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको संस्थापक सेयरको ३० करोड २० लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस दिन घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.६० प्रतिशतले घटेको हो ।

कूल २२९ वटा कम्पनीको ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।