वित्तीय पहुँचको आधार बन्दै लघुवित्त


हाल नेपालमा ६६ लघुवित्त कम्पनी सञ्चालनमा छन् । सबै संस्थाले देशका ७७ वटै जिल्लाका सुगमदेखि दुर्गम स्थानमा समेत आफ्नो पहुँच पुर्‍याएका छन् । सुगमभन्दा दुर्गममा लघुवित्तको सेवा राम्रो दखिएको छ ।

गरिबी निवारणका लागि प्रभावकारी औजार मानिएको समुदायमा आधारित वित्तीय सेवा नेपालमा पनि प्रभावकारी देखिएका छन् । लघुवित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेका छन् । ‘घ’ वर्गका इजाजत प्राप्त संस्थाले देशको कुना काप्चामा गएर सेवा दिने काम गरिरहेका छन् ।

लघुवित्तहरूले कम आय भएका, विपन्न वर्ग र महिलाहरूलाई एकै ठाउँमा जोडेर बचत संकलन गर्ने र कर्जा प्रवाह गर्दै आएका छन् । लघुवित्तको एउटा समूहमा १० देखि ५० जनासम्म सदस्य रहने गरेका छन् । त्यही समूहमा भएका सदस्यहरूले सामूहिक जमानीमा कर्जा दिने गरिएको छ ।

लघुवित्तले आफ्ना सदस्यलाई सामूहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्नका लागि बिनाधितो लघु कर्जा प्रवाह गर्ने गर्दछ । लघुवित्तले सामूहिक जमानीमा निश्चित पाँच लाखसम्म कर्जा प्रवाह गर्ने गरेको छ भने धितो राखेर पनि १५ लाखसम्म कर्जा प्रवाह गर्न पाउँदछन् । 

लघुवित्तले सीमित मात्रामा बचत लिन पाउँछन् भने सीमित मात्रामा कर्जा प्रवाह गर्न पाउँछन् । लघुवित्तले पनि सदस्यको बचत, आरएमडीसीजस्ता संस्था तथा ‘क’ वर्गका बैंकबाट सापटी लिएर सदस्यहरूलाई कर्जा प्रवाह गर्ने गर्दछन् । यसले बैंकले सापटी लिएर त्यही रकम लघुवित्तमा आबद्ध भएका सदस्यलाई ऋण लगानी गरिन्छ ।

नेपालमा सन् १९९० को दशकदेखि गैरसरकारी संस्थाका रूपमा निर्धन उत्थान संस्था, सेन्टर फर सेल्फ हेल्प (सीएसडी) र पाँचवटा ग्रामीण विकास बैंकबाट आरम्भ भएको लघुवित्त अभियान अहिले निकै फराकिलो भइसकेको छ । 

विगतमा सञ्चालन लागत बढी भएका कारण महँगो ब्याजदर लिएको आरोप खेप्दै आएका लघुवित्त संस्थाहरूले अहिले अधिकतम १५ प्रतिशतमा ब्याज सीमित पारेका छन् । राष्ट्र बैंकको नीतिले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेपछि यो अवस्था आएको हो । नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष मीबहादुर बोहोराले लघुवित्तको ब्याजदर महँगो नभएको दाबी गर्छन् । 

“हामीले नबुझेर महँङ्गो ब्याज भनिरहेका छौं । वास्तवमा ब्याजदर महँगो छैन । हामीले नै अहिलेको अवस्थामा १४ प्रतिशतभन्दा बढी ब्याजमा कर्जा लिएर दुर्गममा पुगेर १५ प्रतिशतमा लगाइराखेको छौं । कसरी महंगाे हुन्छ ?” उनले भने ।

राष्ट्र बैंकले पनि लघुवित्त सञ्चालकहरूलाई मध्यस्तकर्ता गरेर कमाउने भनेर हेप्ने भनेर गुनासो पनि लघुवित्त सञ्चालकहरूले गर्ने गरेका छन् । हाल नेपालमा ६६ लघुवित्त कम्पनी सञ्चालनमा छन् । सबै संस्थाले देशका ७७ वटै जिल्लाका सुगमदेखि दुर्गम स्थानमा समेत आप्mनो पहुँच पुर्‍याएका छन् ।

सुगमभन्दा दुर्गममा लघुवित्तको सेवा राम्रो दखिएको छ । केही स्थानमा लघुवित्तहरूको संख्या बढी भएकै कारण बहुबैंकिङ (मल्टिपल बैंकिङ) र बहुवित्तीयकरण (मल्टिपल फाइनान्स)को समस्या बढ्दै गएको स्वयं लघुवित्तकर्मीहरू नै स्वीकार गर्छन् । यसका साथै, सहरी क्षेत्रमा खुलेका लघुवित्त संस्थाहरू बढी नाफामुखी बन्दै गएको आरोप पनि लाग्न थालेको छ ।

लघुवित्तले ग्रामीण भेगका विपन्न समुदायका मानिसको जीवनस्तरमा परिवर्तन आएको छ । लघुवित्त संस्थाले सिरानीमुनि राखिएको पैसा पनि बैंकसम्म पुर्‍याउने काम गर्दै आएको लघुवित्तकर्मीहरू बताउँछन् । अर्थमन्त्री जर्नादन शर्माले हालै पैसा सिरानीमुनि राखिएकोले त्यो खोजिरहेको बताएका  थिए । लघुवित्तले त्यही पैसा बैंकसम्म पुर्‍याउन सहयोग गरिरहेका छन् । 

किसानलाई बैंकसम्म जान टाढा, दुर्गम ठाउँमा क, ख वर्गका बैंक नहुँदा किसान तथा तल्लो वर्र्गका गरिबहरूले त्यो पैसा आफैसँग राख्ने गरेका थिए । त्यही पैसालाई लघुवित्तले चलयमान बनाउन गाउँमा केन्द्र बनाएर महिनामा एक पटक भेला गराएर बचत उठाउने र कर्जा प्रवाह गर्ने काम गरिराखेको आवस्थामा राष्ट्र बैंक भने लघुवित्तलाई मध्यस्थताको काम गरेको भन्ने गरेको लघुवित्त सञ्चालकहरूको गुनासो छ । 

लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गरेका छन् ।

दुर्गममा कर्जा लिन सहज 

नेपाल राष्ट्र बैंकले सबै पालिकामा वाणिज्य पु¥याउने नीति लिएको छ । अब केही पालिकामा मात्र वाणिज्य बैंक पुग्न बाँकी भए पनि त्यो नगरउन्मुख र बजार क्षेत्रमा मात्र हुने भएकोले त्यसले सबै क्षेत्रलाई समेट्न नसकेको देखिएको छ । त्यसकारण पनि लघुवित्त दुर्गम क्षेत्रमा वित्तीय सेवा पु¥याउने माध्यम भएको बन्दै आएको छ । विगतको १० वर्षे सशस्त्र द्वन्द्वकालमा पनि केही अपवादमा बाहेक लघुवित्त संस्थाहरूले दुर्गम तथा पिछडिएको क्षेत्रमा सेवा प्रवाह गरेकाले यिनीहरूप्रति विश्वास बढेको छ ।

नेपालको अति दुर्गम क्षेत्रमा वाणिज्य बैंकहरूको सेवा नपुगेको अवस्थामा पनि लघुवित्तहरूले राष्ट्र बैंकले ताकेबमोजिम सेवा दिँदै आइरहेका छन् । लघुवित्तबाट सामूहिक कर्जा लिन पाइने भएकोमात्रै नभई महिला सशक्तीकरणमा योगदान गर्दै आएकाले पनि यसप्रति गाउँगाउँमा आकर्षण बढ्दो छ । जसले गाउँका ठूलाबडा भनिनेसँग महँगो ब्याजमा कर्जा लिनुपर्ने अवस्थाको अन्त्य गरेको छ । 

सबै क्षेत्रमा शिक्षित वर्ग नभएका कारण गाउँको ठुला बडा भनाउँदाहरूले सोझासाझालाई चर्को ब्याजमा ऋण लगाउँदै आएका थिए । त्यसको अन्त्य गर्न पनि लघुवित्तले ठूलो भूमिका खेलेको छ भने महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्तीकरण गरी मूल प्रवाहमा आबद्ध गर्न यसको भूमिका देखिएको छ । देशभरिका पालिकाहरूमा उठ्ने धेरै संख्याका महिला उम्मेदवारहरू कुनै न कुनै रूपमा लघुवित्तमा आबद्ध रहेको पाइएको छ ।

दुर्गममा सेवा दिए पनि लघुवित्तका कर्मचारीको समस्या छुट्टै छ । जहाँ गाडी हिँड्ने बाटो छैन त्यहाँ पनि लघुवित्त पुगेका छन् । लघुवित्तका कर्मचारीले घन्टौं हिँडेर दुर्गममा थन्किएका पैसा बजारसम्म ल्याउने गरेका छन् । नेपाल राष्ट्र बैंकको २०७८ फागुनको तथ्यांकअनुसार ६६ लघुवित्त संस्थाहरूले देशभरिका पाँच हजार ७६ शाखा, चार लाख १४ हजार ३६६ केन्द्रहरूबाट ५७ लाख २९ हजार ९७९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएका छन्, जसको अधिकांश हिस्सा महिलाको छ ।

२०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले एक खर्ब ४६ अर्ब सात करोड रूपैयाँ निक्षेप तथा बचत संकलन तथा एक खर्ब ८९ अर्ब ८४ करोड रूपैयाँ सापटी गरी जम्मा तीन खर्ब ३५ अर्ब ९० करोड रूपैयाँ वित्तीय स्रोत संकलन गरेका छन् भने सो अवधिमा खुद्रा लगानी कारोबार गर्ने लघुवित्त संस्थाले तीन खर्ब ७५ अर्ब ८४ करोड रूपैयाँ लगानी गरेका छन् ।

तालिमको कमी 

लघुवित्तहरूले विशेष क्षेत्रलाई लक्षित कर्जा लगानी गर्ने गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गरे पनि तालिम भने दिन नसकेको गुनासो लघुवित्तमा आबद्ध भएका सदस्यहरूले गर्ने गरेका छन् । हालै आयोजित लघुवित्त सम्मेलनमा यस्ता संस्थाले कर्जा दिए पनि तालिमको अभावमा सम्बन्धित क्षेत्रको कर्जा दुरूपयोग हुने अवस्था बढेको गुनासो गरेका थिए । लघुवित्तले कर्जा त दिन्छन् तर त्यसलाई सही तरिकाले प्रयोग गर्न नसक्दा लगानी डुब्ने गरेको उनीहरूको गुनासो थियो, यही कारणले कतिपय ठाउँमा लघुवित्तकै कारण ‘ऋणको पासो’ बढ्दै गएको समाचारहरू बेलाबेलामा आउने गरेका छन् ।

 लघुवित्तले दुर्गममा सेवा त दिन्छ तर त्यो अनुसारको सीप, उद्यमशीलता विकास गर्न नसक्दा ऋणीहरूले ऋणको सदुपयोग गर्न नसकी ‘ऋणको पासो’मा परेका हुन् । लघुवित्तले एककामको लागि कर्जा दिने र त्यससँग सम्बन्धित तालिम र सीप नहुँदा ऋणीहरू घाटामा जाने गरेका उनीहरूको गुनासो छ ।

लघुवित्तको मर्जर

देशभित्र लघुवित्त वित्तीय संस्थाको संस्था बढ्दै जान थालेपछि मर्जरको विषयले अहिले प्राथमिकता पाउन थालेको छ । नेपाल राष्ट्र बैंकले क र ख वर्गको बैंकलाई नयाँ इजाजत दिन बन्द गरेपछि धमाधम लघुवित्त संस्था खुल्न थालेपछि कुनै समय ९१ वटा पुगेका लघुवित्त संस्था अहिले मर्जरपछि ६६ मा झरेका हुन्, यीमध्ये ४७ वटा लघुवित्त संस्था राष्ट्रियस्तरका हुन् ।

(टक्सार म्यागजिन, जेठ २०७९, पृष्ठ ४५–४८)